काेराेना सङ्क्रमित सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा छ : मन्त्री ढकाल

 कात्तिक ४, २०७७ मंगलबार २०:७:५४ | रासस
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ । 

मन्त्री ढकालले मङ्गलबार भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोरोनाको परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच वृद्धि गरिएको समेत जानकारी दिनुभयो । मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोरोनाको परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, 'अक्सिजन र आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको छ ।'

मन्त्री ढकालका अनुसार देशभरि भेन्टिलेटरसहितको २६ सय सघन उपचार कक्ष (आईसीयू) तयारी अवस्थामा र थप चार सयको निर्माण भइरहेको तथा अक्सिजन र मनिटरसहितको तीन हजार पाँच सय हाई डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ । यसले कोरोनाका सिकिस्त बिरामीको उपचारलाई सहज बनाउने उहाँको भनाइ छ ।

मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा नागरिकबाट प्राप्त साथ, सहयोगप्रति आभार व्यक्त गर्दै रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताउनुभयो । 

यस्तै उहाँले तोकेका कोरोना अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताउनुभयो । विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपाङ्गता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ ।

उहाँले भन्नुभयो, 'यो वर्गमा नपरेका सबै कोभिड–१९ को उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिस गरेमा वा बिरामी वा उनको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।'

उहाँले निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्दा कुनै पनि निकाय वा व्यक्तिको सिफारिस आवश्यक नपर्ने गरी सहज विधि र प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । 

अस्पताल नभएका ६ सय ४९ पालिकामा पाँच शय्याको अस्पताल स्थापना गरी सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र पालिकाहरूमा कार्य सुरु भइसकेको र यस कार्यले पालिकामा अस्पताल सेवाका लागि तीन हजार दुई सय ४५ शय्या थपिने उहाँले बताउनुभयो । 

जिल्लामा रहेका ५८ अस्पताललाई २५ र ५० शय्यामा स्तरोन्नति गर्दा नाै सय २२ बेड, साबिकका ११ अञ्चल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई दुई सय शय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्दा एक हजार ३५ शय्या र प्रदेशकाे सात सङ्घीय अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्दा एक हजार गरी जम्मा शय्या सङ्ख्या ६ हजार दुई सय दुई थप गर्ने कार्य अगाडि बढेको मन्त्री ढकालले बताउनुभयो । 

अहिलेसम्म देशभरिका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाबाट १३ लाख नाै सय १८ परीक्षण भएको मध्येमा दुई लाख ३१ हजार चार सय पाँच व्यक्तिले निजी तथा सरकारी प्रयोगशालाबाट शुल्क तिरी परीक्षण गराएको उहाँले जानकारी दिनुभयो । 

यसैगरी मन्त्री ढकालले सरकार नागरिककाे साथमै रहेको भन्दै कोरोना महामारीविरूद्धको लडाइँमा राज्य र नागरिकबीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी रहेको औँल्याउनुभयो । उहाँले भन्नुभएको छ, 'यो जोखिमको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सञ्चारको आवश्यकता पर्ने हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनामा सञ्चार क्षेत्रको योगदानको उच्च सम्मान गर्दै आउँदा दिनमा समेत सघन सहयोगको अपेक्षा गरेको छु ।' 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया