अनलाइनमार्फत सुरु भयो ट्राफिक सचेतना कक्षा

 मंसिर १६, २०७७ मंगलबार १९:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक बत्तीकाे नियम उल्लङ्घन गर्ने चालकलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिन थालेको छ । ट्राफिक प्रहरीले ट्राफिक बत्तीलाई बेवास्ता गरी गाडी चलाउनेलाई मङ्सिर १५ गतेदेखि अनलाइनमार्फत सचेतना कक्षा लिन सुरु गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण लकडाउन सुरु हुनुभन्दा अघि ट्राफिक कारबाहीमा परेका चालकहरू आफै बग्गीखाना पुगेर कक्षामा सहभागी हुनुपर्ने व्यवस्था थियो । तर कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर गरी अनलाइनमार्फत सचेतना कक्षा सुरु गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले भन्नुभयो, 'लामो समयको लकडाउन र कोरोना सङ्क्रमणको जोखिम यथावत् नै रहेकोले चालकहरूलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरूको लागि हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेका हौँ ।' उहाँले अब सकेसम्म ट्राफिक प्रहरीसँग सम्बन्धित काम कारबाही प्रविधिमार्फत नै गर्न सकिने व्यवस्थाका लागि पहल भइरहेको जानकारी दिनुभयो ।​ 

प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन गर्दा बढी उपयोगी हुने र यसले चालकहरूमा अनलाइन सचेतना कक्षा लिने प्रवृत्तिमा समेत वृद्धि हुने महाशाखाको अपेक्षा छ ।

यसअघि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो । महाशाखाले जाँड–रक्सी पिएर गाडी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएकोमा अबदेखि ट्राफिक बत्तीको बेवास्ता गरी सङ्केत उल्लङ्घन गर्ने चालकहरूले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।

सचेतना कक्षासम्बन्धी दैनिक तालिका तथा कक्षाको लिङ्कसमेत महाशाखाको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिने महाशाखाले जनाएको छ । थप जानकारीको लागी ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न अनुरोध गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया