कर्णाली : आगलागीबाट बर्सेनि क्षति, जस्ताले छाना छाउने सरकारको नीति कहिले पूरा हाेला ?

एउटा घरमा आगाे लाग्दा बस्ती नै सखाप हुन्छ

 मंसिर १८, २०७७ बिहिबार १९:१४:२१ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – गएको शनिबार कालीकोटको तिलागुफा नगरपालिकामा आगलागी हुँदा तीन वटा घर जले । एउटा घरमा लागेको आगो अर्को घरमा सल्किँदा सँगै जोडिएका दुई घर पनि जलेर नष्ट भए । जसका कारण तीन वटा घरमा बस्दै आएका १३ घरका ४१ जना घरबारविहीन भएका छन् । खर र काठका फलेकले छाएका घर भएकाले पूर्ण क्षति भयो । 

कालीकोटमै दुई वर्षअघि पलाता गाउँपालिका १ मा रहेको न्यौपाने बस्तीमा आगलागी हुँदा सिङ्गो बस्ती नै जलेको थियो । त्यतिबेला खरले छाएका झण्डै ३० घर जलेका थिए । त्यस बस्तीमा पनि एउटा घरमा लागेको आगो अरु घरमा सल्किँदै जाँदा क्षति भएको थियो ।

यसैगरी गएको असोजमा हुम्लाको सर्केगाड गाउँपालिका ७ को रोडीकोटमा आगलागी हुँदा एउटै बस्तीका ६ वटा घर पूर्णरुपमा नाै वटा घर आंशिक रुपमा जले । केटाकेटीले मकै पोल्नलाई बालेको आगो खरले छाएको एउटा घरमा लागेपछि अन्य घरमा सल्किएको थियो । ग्रामीण बस्तीका अधिकांश घरहरु खरले छाएको र एक अर्कोसँग जोडिएर बनाएकाले एउटा घरमा आगो लाग्ने बित्तिकै त्यसले ठूलो रुप लिने गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले घरहरु एक अर्कोसँग जोडिएर बनाएकाले एउटा घरमा आगो लाग्ने बित्तिकै बस्ती नै सखाप हुने समस्या रहेको बताउनुभयो । 

यस्तै जुम्लामा केही दिनअघि एउटा सामुदायिक वन र एउटा घरमा आगलागी भएको थियो । जुम्लाको चन्दननाथ नगरपालिकाभित्र दुई वटा आगलागीका घटना भएका छन् । नगरपालिकाको वडा नम्बर १ मा एउटा घरमा आगलागी हुँदा पाँच लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । 

कर्णालीमा आगलागीका घटना यी प्रतिनिधिमूलक मात्रै हुन् । यस प्रदेशमा आगलागीका कारण बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार २०७३ साल यताको तथ्याङ्क हेर्दा कर्णालीमा आगलागीका मात्रै सात सय ९६ वटा घटना भएका छन् । आगलागीमा परेर यस अवधिमा १८ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ भने ४१ जना घाइते भएका छन् । यस अवधिमा झण्डै एक अर्ब ७० करोड ३७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

प्रहरीका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७३/०७४ मा दुई सय २४ वटा आगलागीका घटना भएका थिए, आगलागीमा परेर चार जनाको ज्यान जाँदा सात जना घाइते भएका थिए भने चार करोड ५० लाख ४४ हजार एक सय ३० रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा एक सय ९१ आगलागीका घटना भएकोमा पाँच जनाको ज्यान गयो भने १२ जना घाइते भए । यसबाट आठ करोड ६६ लाख ६४ हजार सात सय रुपैयाँ बराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा एक सय ६० आगलागीका घटना भएकोमा तीन जनाको ज्यान जाँदा १० जना घाइते भएका थिए भने चार करोड ६३ लाख ४२ हजार नौ सय ८० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

त्यस्तै २०७६/०७७ मा दुई सय आठ आगलागीका घटना भएकोमा चार जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए, ती घटनामा ८९ वटा पशु चौपाया मरेका थिए । आगलागीबाट एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार आठ सय ७० रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको थियो । चालु आर्थिक वर्षमा अहिलेसम्म १३ वटा आगलागीका घटना भइसकेका छन् । यसबाट झण्डै एक करोडको क्षति भएको छ भने आगलागीमा परेर तीन जनाको ज्यान गएको छ । 

हिउँदको समय सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कर्णालीमा आगलागीको अवस्था हेर्दा खाना पकाउँदा, केटाकेटीले जथाभाबी आगो बाल्दा र सामुदायिक वन क्षेत्रमा चुरोट खाएर फ्याँक्दा आगो लाग्ने गरेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) माधव श्रेष्ठले कर्णालीका ग्रामीण भेगमा कमजोर संरचनाका कच्ची घरहरु हुँदा र भौगोलिक विकटताले क्षति धेरै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खरले छाएका र काठले बनाएका कच्ची घरहरु हुन्छन्, आगो लाग्ने बित्तिकै तत्काल नियन्त्रणमा लिन भौगोलिक विकटता र स्रोध, साधनको अभावले समयमै पुग्न सकिँदैन, त्यसैले बस्ती नै जल्नुपर्ने अवस्था छ ।’ 

आगलागीका कारण धेरैजसो परिवार प्रभावित भएका छन् । खरको छाना हुनु, जथाभाबी आगो बालिनु र सहरी क्षेत्रमा विद्युत् शर्ट हुँदा आगलागीका घटनाहरु बढेका छन् । 

तीनै तहका सरकारले खरका छाना हटाएर जस्तापाताले छाना छाउने नीति लिए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । सरकारले खरका छाना हटाएर जस्ताले छाउने नीति लिए पनि अधिकांश बस्तीहरूमा यो कार्यक्रम पुगेको छैन । प्रदेश सरकारले पनि जस्ताले छाना छाउने नीतिलाई कार्यान्वयन गर्न सकेको छैन । प्रदेश सरकारले अघिल्लो वर्ष यसका लागि बजेट विनियोजन गरे पनि यस वर्ष भने गरेको छैन । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अघिल्लो वर्ष बजेट कार्यान्वन नभएको बताउँदै यस वर्ष प्रदेश सरकारसँग कार्यक्रम नभएको जानकारी दिनुभयो । 

हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष रोकाया पनि खर तथा काठका फलेकले छाएका घर हुने भएकाले आगलागीको जोखिम धेरै भएको बताउनुहुन्छ । उहाँले खरको छानो हटाउने पालिकाले नीति लिए पनि बजेट अभावमा गर्न नसकिएको बताउनुभयो ।  

कालीकोटको तिलागुफा नगरपालिकाले खर र काठका फलेकबाट बनेका छाना हटाएर जस्तापाताले छाउने नीतिअनुसार कार्यक्रम अघि बढाए पनि केही बाँकी रहेको जनाएको छ । नगर प्रमुख रत्नबहादुर शाहीले खर र काठले बनाइएका घर भएकाले आगलागीको बढी जोखिम रहेको बताउँदै खरको छाना हटाएर जस्ताले छाउने नीतिअनुसार घर निर्माण गर्ने कार्यक्रम लागू गरिने जानकारी दिनुभयो । अहिलेसम्म नगरपालिकाले तीन सय ८६ वटा घरमा जस्ताको छानो राखिदिएको छ । 

दैलेखको नारायण नगरपालिकाले पनि जस्ताले छाना छाउने काम थालेको छ । गएको वर्ष नगर क्षेत्रमा रहेका पाँच सय १२ घरमध्ये तीन सय १२ घरमा जस्ता राखिएको थियो । गएको वर्ष सङ्घ र प्रदेशले बजेट पठाए पनि यस वर्ष भने सङ्घीय सरकारलाई बजेटका लागि प्रस्ताव गरी पठाइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार बीसीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया