तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले पश्चिम तराईको जनजीवन प्रभावित

 माघ १९, २०७७ सोमबार १७:१६:११ | जानुका दुवाडी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पश्चिम तराईका जिल्लामा तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले  जनजीवन प्रभावित भएको छ । पश्चिमी न्युन चापीय रेखाको प्रभावका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

मौसमविद् कँडेलका अनुसार अझै केही दिन पश्चिम तराईमा धेरैजसो समय बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना छ । कहिलेकाहीँ कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनेर औपचारिक घोषणा भने गरेका छैनन् । ४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका छन् । 

चिसोका कारण जिल्ला प्रशासन कार्यालय बर्दियाले आफ्नो जिल्लाभित्रका ६ वटा नगरपालिका र दुई वटा गाउँपालिकालाई स्कुल बन्द गर्न परिपत्र गरेको बर्दियाका उज्यालो सहकर्मी भावुक योगीले जानकारी दिनुभयो । 

बाक्लो कुहिरो लागेकाले मानिसहरु कम मात्रै घरबाट बाहिर निस्केका छन् । कुहिरोले आकाश ढाकिएपछि गाडी चलाउन कठिन भएको छ भने बजारमा मानिसको चहलपहल पनि कम भएको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्ने र चिसो हावा चल्नाले एक्कासी अधिकतम तापक्रम घटेर चिसो बढेको हो । चिसोले बढी मात्रामा पश्चिम तराईका बाँके, बर्दियालगायतका जिल्लाको जनजीवन कष्टकर बनेको छ  । 

मानिसहरु चोक–चोकमा आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका छन् । खासगरि विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न मुस्किल भएको छ । बिहानै खुल्ने व्यापारिक पसल र बजार पनि ढिलो गरि खुल्ने गरेका छन् ।  बेलुका चिसो झनै बढ्दा बजारहरु ४–५ बजेपछि नै सुनसान हुन थालेका छन् । 

यसैबीच वाग्मती, प्रदेश एक र सुदूरपश्चिम प्रदेशमा सोमवार (आज) राति फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ । फाट्टफुट्ट पानी पर्ने सम्भावना भएकाले अधिकतम तापक्रम घटेर चिसो अझै बढ्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

यसैबीच चिसो बढेपछि पश्चिम तराईका अस्पतालहरुमा बिरामीको चाप पनि बढेको छ । एक हप्तायता बढेको चिसोका कारण अस्पताल आउनेको सङ्ख्या चार गुणाले बढेको भेरी अञ्चल अस्पतालका जनरल फिजिसियन डाक्टर राजन पाण्डेले जानकारी दिनुभयो  । रुघाखोकी, मुटु तथा दमका बिरामी बढेका छन् भने कोरोनाका बिरामीलाई चिसोले बढी समस्यामा पारेको छ । यस्तै सिकलसेलका बिरामीमा पनि थप समस्या देखिएको उहाँले बताउनुभयो । 

चिसो र शीतलहरले गर्ने असर उस्तै–उस्तै नै हुने डाक्टर पाण्डे बताउनुहुन्छ । यस्तो बेला विशेषगरि बालबालिका र दीर्घरोगीलाई जोगाउन उहाँको सुझाव छ । 

सामान्य रुघाखोकी लागेको छ भने घरमै पनि उपचार गर्न सकिन्छ । तर सास फेर्न गाह्रो भएमा अस्पताल जानुपर्छ । चिसोको समयमा दम, सुगरलगायतका दीर्घ रोगीले निरन्तर औषधि खाइरहनुपर्छ । 

चिसोबाट बच्न तातो, झोलिलो खानेकुरा खाने, व्यायाम गर्ने, शरीरलाई ऊर्जा दिने खानेकुरा खाने, बाक्लो कपडा लगाउने र शरीरलाई सधैँ न्यानो राख्न डाक्टर पाण्डेको सुझाव छ । तर कोठा न्यानो बनाउने भनेर कोइला, हिटरलगायतका वस्तु बालेर नसुत्न र पूर्णरुपमा झ्याल र ढोका नलगाउन पनि उहाँले सुझाव दिनुभएको छ ।    

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया