'श्रीमानले विदेशबाट पठाएको पैसाको हिसाब माग्दा आजकाल बुझाउन सक्छु'

 फागुन २०, २०७७ बिहिबार १६:४९:४८

काठमाण्डौ – भोजपुरकी चन्द्रा शेर्पालाई विदेशबाट श्रीमानले भन्थे –‘चन्द्रा तिमीलाई पैसाले पुर्‍याउन सकिंनँ, मैले पठाएको पैसा कहाँ खर्च गर्‍यौं ?

त्यति बेला चन्द्राको मन चसक्क दुख्थ्यो । किनकि कहाँ खर्च गरेँ भनेर देखाउन उहाँसँग हरहिसाब थिएन । पैसा बैंकबाट निकाल्यो । टाल्नुपर्ने ठाउँ अनेक हुन्छन् । जुन देखिँदैनन् । तर त्यसको हिसाब नराख्दा परदेशमा रहेका श्रीमानलाई भने अनावश्यक खर्च गरेको भान हुन्थ्यो । चन्द्राले पनि यसरी यहाँ खर्च गरेँ भनेर बुझाउन नसक्दा कति पटक त श्रीमान् श्रीमतीबीच असमझदारी नै भयो ।

 

तर अहिले त्यो अवस्था छैन । नसोध्दा पनि चन्द्राले श्रीमानलाई भएको खर्च र पठाएको पैसाको हरहिसाब बताउन सक्नुहुन्छ । टिपेर राखेका हिसाबहरू श्रीमानलाई पठाइ पनि दिनुहुन्छ । 

चन्द्राका श्रीमान् १० वर्षदेखि विदेशमा काम गरिरहेका छन् । यता घरमा सासुआमा, छोराछोरी चन्द्रा छन् । पहिले पहिले श्रीमानले कमाउँथें । यता घरमा चन्द्रा बालबच्चाको रेखदेख र घर खर्चमा श्रीमानकै कमाइ खर्च गर्नुहुन्थ्यो । तर एक महिनामा कहाँ कति रकम खर्च भयो भन्ने थाहा हुन्न थियो । 

त्यसै गरी वर्षौँ बित्यो । न श्रीमानले परदेशमा कमाएको बच्यो । न त कमाइ कहाँ के मा खर्च भयो भन्ने थाहा भयो । 

एक जना कमाउने बाँकी सबै जनाले खर्च गर्ने हुँदा पारिवारिक असमझदारीसमेत बढ्यो । तर गएको वर्षको माघमा चन्द्राको गाउँमा विप्रेषणको सही सदुपयोगबारे सिकाउने वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । 

भोजपुर नगरपालिकाद्धारा सुरक्षित आप्रवासन परियोजनामार्फत सञ्चालित वित्तीय साक्षरता कक्षामा चन्द्रा पनि बस्नुभयो । 

परदेशीका परिवार लक्षित यो कक्षामा बस्न थालेपछि चन्द्राले आफूले श्रीमानलाई हरहिसाब बुझाउन नसक्नुको कारण थाहा पाउनुभयो । 

‘पैसा पठाउनुहुन्थ्यो, यता खर्च उत्तिकै हुन्थ्यो तर कहाँ खर्च भयो भनेर हिसाब हुन्न थियो,’ चन्द्रा भन्नुहुन्छ,‘यो कक्षामा बसेपछि हिसाब राख्नु पर्ने रहेछ भन्ने कुरा सिकियो ।’

कहिले पनि आम्दानी र खर्चको लेखाजोखा नगर्ने चन्द्राले कक्षामा बसेपछि गर्न थाल्नुभयो । यसरी भएको आम्दानी र आफूले गर्ने खर्चको लेखाजोखा गर्दा खर्च घटाउन सकिने ठाउँ पनि भेट्टाउनुभयो उहाँले । 

श्रीमानलाई पनि यो कुरा बुझाउनुभयो चन्द्राले । 

‘मैले महिनाभरि भएको खर्च र आम्दानीको हिसाब राखेर श्रीमानलाई देखाउन थालेपछि त उहाँ पनि निकै खुसी हुनुभयो नि,’ चन्द्रा भन्नुहुन्छ,‘हामीले सही ठाउँमा खर्च गरे पनि बुझाउन नसक्दा कहिलेकाहीँ श्रीमानलाई नराम्रो लाग्दो रहेछ तर अहिले सबै ठिक छ ।’

आजकाल त चन्द्रा सकेसम्म अनावश्यक खर्च कम गर्नुहुन्छ । आफूले महिनाभरि गरेको खर्च र बचतको हिसाब परदेशमा रहेका श्रीमानलाई पनि बुझाउनुहुन्छ । 

 आम्दानी र खर्चको हिसाब राख्ने पास बुक हेर्दा चन्द्रा मुस्कुराउनुहुन्छ । किनकि यही पास बुकले उहाँलाई निकै सघाएको छ । भन्नुहुन्छ,‘यो पास बुक साह्रै राम्रो लाग्यो, पहिलो पटक हो यस्तो देखेको पनि, यो पास बुक हेर्दा मलाई श्रीमानको दुःख याद आउँछ ।’

विदेशबाट पठाएको पैसा अनावश्यक खर्च नगरौं 

सोच्नेले त सोच्छन् विदेशमा त पैसाको रुख छ । तर देशमा होस् या विदेशमा । पैसा कमाउन सजिलो छैन । मेहनत गर्न पर्छ । भोक निद्रा भन्न पाइँदैन । यसरी कमाएको पैसाको सही सदुपयोग गर्ने जिम्मा परदेशी र परिवार सबैको हो । चन्द्रा भन्नुहुन्छ – ‘विदेशमा श्रीमानले कमाएको पैसा घरमा बसेर हामीले अनावश्यक खर्च नगरौँ ।’

कक्षामा नबस्दासम्म उहाँलाई पनि लाग्थ्यो विदेशमा त पैसाको रुखै छ । कमाउन सजिलो छ । तर आजकाल उहाँ परदेशको दुःख बुझ्नुहुन्छ । सकेसम्म खर्च कम गर्नुहुन्छ । कहाँबाट कसरी आम्दानी गर्न सकिन्छ त भनेर बाटोहरू खोज्नुहुन्छ ।

आजकाल त चन्द्राले बचत पनि बढाउनुभएको छ ।  पहिले दुई सय रुपैयाँमात्र बचत गर्ने चन्द्राले  आजकाल बढाएर महिनाकै २० हजार रुपैयाँ पुर्‍याउनुभएको छ ।

पैसाको बचत गरेर मात्र हुँदैन । पैसाले पैसा कमाउन सक्ने ठाउँमा लगानी गर्नसके मात्र भविष्य सुरक्षित हुन्छ भन्ने कुरा बुझ्नुभएको छ उहाँले । अब जतिसक्दो छिटो बचत भएको पैसालाई उत्पादनमूलक व्यवसायमा लगानी गर्ने उहाँको सोच छ । 

कक्षामा बसेपछि चन्द्राले आफ्नो खर्च आफैं पुर्‍याउन थाल्नुभएको छ । १६ वटा लोकल कुखुरा पाल्नुभएको छ । त्यसबाट हुने आम्दानीले नै अहिले घरखर्च पुर्‍याउनुहुन्छ । यही कुखुरापालन  व्यवसायलाई थप विस्तार गर्दै व्यवसायीक रूपमा सुरु गर्ने अबको उहाँको योजना छ । 

भन्नुहुन्छ,‘यही राम्रो भयो भने अब विदेशबाट श्रीमानलाई पनि बोलाउँछु ।’ 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया