तीन वर्षमा देशले आश्चर्यजनक प्रगति गर्‍याे : प्रधानमन्त्री ओली

 फागुन २०, २०७७ बिहिबार २०:९:२० | बाबुराम देवकोटा
unn.prixa.net

फाइल फाेटाे

सिन्धुली – प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारमा बिहीवार सुनकोशी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ । आयोजनाको शिलान्यास गर्दै उहाँले समयमा नै निर्माण पूरा हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा अगाडि बढेको र यसलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । उहाँले तीन वर्षको अवधिमा देशले आश्चर्यजनक प्रगति गरेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले यस आयोजनाको सिँचाइ र विद्युत् उत्पादन दुई वटा देखिने उद्देश्य भए पनि यो अनेक हिसाबले बहुद्देश्यीय आयोजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा प्रदेश नं. २ को बारादेखि धनुषासम्मका जिल्लामा एक लाख २२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । अर्को ३१ मेगावाट विद्युत् यसै ठाँउमा पावर हाउस बनाएर उत्पादन हुन्छ ।’

प्रधानमन्त्री ओलीले निर्धारित समयमै पूरा गर्नुपर्ने बताउँदै आयोजनाको सुरुङ निर्माणसँगै बाँकी पूर्वाधार र संरचना निर्माणका काम पनि सँगै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ (कोभेक) ले आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ । सुनकोशी मरिन आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।

सुनकोशी नदीमा १२ मिटर उचाइको बा“ध निर्माण गरी १३ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारको मरिन खोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेडेटबाट पानी झारेर साढे ३१ मेगावाट विद्युत् उत्पादन गरिने छ । 

यस आयोजना निर्माण गर्न चालु आर्थिक वर्ष  २०७७/०७८ मा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । आयोजना निर्माण गर्न ४६ अर्ब १९ करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया