यूएईमा पासपोर्ट नवीकरणका लागि निःशुल्क घुम्ती सेवा सुरु

 चैत ८, २०७७ आइतबार १७:५२:४२ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब एमिरेट्स यूएईमा एमआरपी पासपोर्ट  नवीकरणका लागि घुम्ती सेवा सुरु गरिएको छ । स्थानीय कानुन अनुसार यूएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएशन(एनए)ले यूएईका विभिन्न राज्यहरुमा घुम्ती सेवा सुरु गरेको हो ।

नेपाल एसोसिएसनले यहाँको कम्युनिटी डेभलपमेण्ट अथोरिटीसँग अनुमति लिएर यूएईमा रहेको नेपाली दूतावाससँगको समन्वयमा अघिल्लो साताबाट साप्ताहिक रूपमा राहदानी नवीकरणका फारम संकलन गरिरहेको छ ।

पहिलो चरणमा बनाएका एमआरपीको म्याद सकिन लागेपछि पासपोर्ट नवीकरण गर्नेको दूतावासमा भीड बढेको थियो । भीड बढेसँगै दूतावासका आधा दर्जन स्थानीय कर्मचारीमा एकै पटक कोरोना सङ्क्रमण भएको थियो । 

कर्मचारीमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि दूतावासले प्रत्यक्ष फारम भर्ने काम बन्द गरेर अनलाइन फारम भर्ने,  कुरियर गरेर दूतावासमा पठाएको फारम पनि मान्य हुने भनेको थियो । त्यसपछि भने दूतावास भएको ठाउँ आबुधाबीभन्दा टाढा रहेका नेपालीले सहज महसुस गरे ।

तर फारम भर्ने निश्चित मापदण्ड भएकाले आम श्रमिकले सजिलै फारम भरेर दूतावाससम्म पुर्‍याउन सकेनन् । त्यसैले यहाँ कार्यरत धेरै नेपालीले समयमै राहदानी नवीकरण गर्न नसक्ने भएपछि नेपाल एसोसिएसनले घुम्ती सेवा सुरु गर्न तत्परता देखाएको हो ।

एसोसिएसनले ११ मार्चमा दुबईमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा २५ जनाको पासपोर्ट नवीकरणका लागि फारम भर्ने र संकलन गर्ने काम गरेको थियो । त्यस्तै गएको शुक्रबार पनि दुबईमा रहेको एनएको कार्यालयमा १ सय १० जना नेपालीको फारम भर्ने र नवीकरणका लागि फारम दूतावाससम्म पुर्‍याएको थियो ।

कोरोनाका कारण दुबईबाट आबुधाबी जान झन्झटिलो हुने भएकाले एसोसिएसनले कुरियर कम्पनीसँग सम्झौता गरेर फारम दूतावाससम्म पुर्‍याउने गरेको एसोसिएशनका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

घुम्ती सेवामार्फत फारम भर्ने, प्रिन्ट गर्ने, एमआरपी फोटो खिच्ने र कागजात मिलाएर दूतावाससम्म पठाउने गरिन्छ ।

एसोसिएसनले यूएईको फूजेरा राज्यमा २६ मार्चमा, अजमानमा २ अप्रिलमा, रसअल खेमामा ९ अप्रिलमा, अलऐनमा १६ अप्रिल , सारजाह २३ अप्रिलमा घुम्ती सेवा राखिएको जनाएको छ । घुम्ति सेवामार्फत पासपोर्ट नवीकरणका लागि नागरिकताको कपी र सक्कल राहदानीसहित एमआरपी फोटोका लागि बिना कुनै मेकअप गरगहना नलगाई उपस्थित हुन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Dipesh

    March 22, 2021, 2 p.m.

    सार्जाहको कुन ठाउँमा होला यो शिविर अनि समय पनि जानकारी गराउनु भए धेरै सजिलो हुने थियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया