विराट गोल्डकप : उद्घाटन खेलमा विराटनगरको विजयी सुरुवात

 चैत २७, २०७७ शुक्रबार ११:१३:४२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर महानगर-११ विजयी भएको छ ।  

बिहीवार राति विराटनगरमा रहेकाे सहिद रङ्गशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई  २-१ गोलले पराजित गर्दै विराटनगर दोश्रो चरणमा प्रवेश गरेको हो ।

निकै आक्रामक भएको खेलको सुरुवातमा विराटनगर-११ का प्रकाश बुढाथोकीले गोल गरेर टिमलाई अग्रता दिलाए । खेल सुरु भएको ८ औं मिनेटमा प्रकाशको प्रहारमा पहिलो गोल भयो ।

खेल सुरु भएको ८ मिनेटमा गोल खाएपछि दबाबमा परेको सिक्किमले दोश्रो ८ मिनेट बित्न नपाउँदै गोल गरेर खेललाई बराबरीमा ल्यायाे । खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस पासलाई सदूपयोग गर्दै साङ्गे छोपेन भुटियाले सानदार गोल गरे ।

पहिलो हाफसम्म १/१ गोलको बराबारी भएको खेलमा दोस्रो हाफदेखि विराटनगर आक्रामक भएर मैदानमा उत्रिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले अर्को गोल गर्यो ।

खेल सुरु भएको ६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले डिबक्स बाहिरदेखि गरेको उत्कृष्ट प्रहार बारमा लागेर बाहिरियो । घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।  

खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शुक्रवारको खेल भारतको पञ्जाब पुलिस र गोर्खा ब्वाइजबीच हुनेछ । विराटनगर ११ का प्रशिक्षक सञ्जिव बुढाथोकीले खेलाडीहरुको मेहनतको कारणले सफलता हात पारेको बताए । उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए ।

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । वैशाख ४ गतेसम्म हुने प्रतियोगिताका सब खेल साँझमा हुनेछन् । सहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन ।

तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङ्दी, मछिन्द्र, सङ्कटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया