रोल्पाका आगलागी पीडितकाे बिचल्ली

 बैशाख १६, २०७८ बिहिबार १३:१९:५० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – त्रिवेणी गाउँपालिका–२ पिरालेकी पार्वती सेन ठकुरी मङ्गलवार बैंक खाता खोल्न गाउँपालिकाको केन्द्र जुँगार जानुभएको थियो, त्यही दिन दिउँसो जङ्गलमा लागेको आगो गाउँ पस्दा उहाँको घर सखाप पार्‍याे । अहिले जलेको घर हेरेर बस्नेबाहेक उहाँसँग अरू कुनै उपाय छैन । पार्वतीका जस्तै धेरैकाे अवस्था अहिले यस्तै छ ।  

आगलागीबाट त्रिवेणी गाउँपालिका २ पिराले, बर्तीबाङ र चेत्रेका ४२ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएका सामानहरू जलेर नष्ट भएका छन् । १६ बाख्रा, सात गाई र एउटा सुँगुर जलेर मरेका छन् ।

सोमवार धनबाङको जङ्गलबाट सुरु भएको आगो गाउँमा पसेपछि पिराले गाउँ नै सखाप पारेको हो । जङ्गलमा लागेको आगो नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन लागे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताउनुभयो ।

आगलागी भएको ठाउँमा बुधवार रेडक्रसको टोलीले गैरखाद्य सामग्री वितरण गरेको छ भने गाउँपालिका र वडा कार्यालयले केही खाद्यान्न वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डी.बी. घर्तीले जानकारी दिनुभयो ।

आगलागीबाट घरबारविहीन भएका यहाँका अग्नि पीडितहरू अहिले गाँस, बास र कपासका लागि हारगुहार गरिरहेका छन् । यस्तो बेलामा सबैले सहयोग गर्न त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराज बुढाले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया