‘कमाउन नेपालदेखि युगान्डा आएँ, मन्दिरमा पूजा आरती गरेर बसिरहेको छु’

 बैशाख ३१, २०७८ शुक्रबार १४:३७:३९ | मेरो कथा मेरो भोगाई

सोमनाथ लुइँटेल,पाल्पा/हाल,युगान्डा ।

जीवनमा देखेको होइन लेखेको पाइन्छ । यो भनाइ भनाइ मात्र होइन । मेरो जीवनमा त लागू नै भएको छ । 

देखेको हुन्थ्यो भने आज पनि म नेपालमा एउटा व्यवसायी भएर बसिरहेको हुन्थ्यें । तर लेखेको भयो र त विभिन्न दुःख सुख भोग्दै यहाँ युगान्डामा छु ।

आफ्नै देशमा म व्यवसाय गर्दै थिएँ । तर टाट पल्टिएँ । त्यसपछि कामको खोजीमा भारत गएँ । भारतमा पनि सजिलो कहाँ भयो र । आफूले चाहेजस्तो काम नपाइने, पाएको काम गर्दा मन नमान्ने । विभिन्न दुःखहरू सहन पर्‍यो त्यहाँ । जस्तो भए पनि जे भए पनि काम गर्नै पर्‍यो । मैले हिम्मत हारिँन ।

काम नपाएर यत्रतत्र भौंतारिरहेका बेला मेरो मामाको छोराले भन्यो, ‘बिन्द्रा बन जाऊँ दाइ ।’

जे होला भनेर भाइकै पछि लागेर बिन्द्रा बन पुगेँ । तर त्यहाँ पनि सजिलो रहेनछ । बडो मेहनतका साथ मैले पूजापाठको काम सिकेँ । अनि बिस्तारै ज्योतिष विद्या पनि सिक्न लागेँ । 

दिनहरू त्यही बित्दै थिए । फेरि एक दिन भाइले दाइ विदेश जाने हो भनेर सोध्यो । मलाई पनि जीवनमा केही गर्नु थियो । मैले नाइँ भन्ने कुरै भएन । सोच्दै नसोची हुन्छ भनिदिए । 

नेपाल फर्किएँ । काठमाण्डौमा गएर पासपोर्ट बनाएँ । र घर फर्किएँ । १२ दिन पछि नेपालगन्जको एउटा नाकाबाट ट्याक्सी रिजर्भ गरेर लखनउसम्म आएँ । त्यहाँबाट दुई दिनको रेलको यात्रा पनि मुम्बई पुग्यौँ । २०२० फेब्रुअरी २३ तारेखको दिन अफ्रिकी देश युगान्डाका लागि हाम्रो यात्रा तय भएको थियो । मुम्बई बाट भोलिपल्ट ९ घण्टाको यात्रा तय गरेर म अफ्रिकी देश युगान्डा आइपुगेँ । 

यहाँ आएपछि जस्तो सोचेको थिएँ त्यस्तो भएन  । आएको महिना दिन नपुग्दै कोरोनाको महामारीले विश्व चपेटामा पर्‍यो । यहाँ पनि लकडाउन भयो । म पनि त्यही लकडाउनमा फसेँ । अब जानु कहाँ, गर्नु के ? मसँग अरु उपाय थिएन । अनि एउटा मन्दिरमा आश्रय लिएँ । १४ महिनासम्म त्यसरी नै बिताउन पर्‍यो । कमाएर जमाउने सपना बोकेर आएको मानिस एउटा मन्दिरमा आश्रम लिनुपर्दा के हाल हुन्छ । साह्रै कष्टकर दिनहरू बिताउन पर्‍यो । एउटा होटलमा कामको कुरा भयो । तर कोरोनाकै कारणले त्यहाँ पनि कुरा मात्र भयो काम भएन । 

कम्पाला युगान्डाको राजधानी हो । त्यहाँ एक साथीले बोलाए । त्यहाँ पनि लगभग १० दिन रोटीसँग नुन मात्र खाएर बसेँ । के गर्नु जसरी पनि ज्यान जोगाउन थियो । कर्म यस्तै रहेछ भनेर चित्त बुझाएँ ।

मेरो भाइको एक जना साथी ज्योतिष श्री शगुण पंगेनीले मलाई फेरि कम्पालाबाट विश्वकर्मा मन्दिरमा खाली छ आउनुस् भन्नुभयो । 

अहिले म यही मन्दिरमा पूजा आरती गरेर दिन बिताउँदै छु । कोरोनाको डर उस्तै छ । नेपालमा त झन् अवस्था डरलाग्दो भएको छ । अबको दिन कसरी कट्छ भनेर हेर्न बाँकी नै छ । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया