जुन २३ देखि दुबई–काठमाण्डौ उडान हुने, नेपालबाट यात्रु ल्याउन नपाउने

 असार १, २०७८ मंगलबार १८:८:३० | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – नेपाल एयरलाइन्सले आउँदो जुन २३ देखि दुबई–काठमाण्डौ एकतर्फी उडान सुरु गर्ने भएको छ । कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई लक्षित गरी उडान सुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ।

जुन २३ पछि अको उडान ३० जुनमा हुने तय भएको छ ।

यूएईमा करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरू बढ्दै गएकाले एकतर्फी भए पनि उडान सुरु गर्न लागेको एयरलाइन्सका युएई प्रमुख टिकाराम पङ्गेनीले उज्यालोलाई जानकारी दिनुभयो ।

एयरलाइन्सको वाइड बडी जहाजमार्फत आउँदो जुन २३ र ३० तारिख दुबईदेखि काठमाण्डौको उडान भर्ने पक्का भएको र सोही अनुसार टिकट बुकिङ खुल्ला गरिएको नेपाल एयरलाइन्सको युएई जीएसएका प्रतिनिधि साजु पौलले जानकारी दिनुभयो ।

यूएईबाट काठमाण्डौका लागि सातामा दुई उडान भए पनि जहाजले नेपालबाट भने यात्रु ल्याउन पाउने छैन । यूएईले लगाएको प्रतिबन्धका कारण जहाज नेपालबाट रित्तै युएई आउने छ । 

विशेष  नियमित उडान भए पनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सको भनाइ छ । 

दुबई काठमाण्डौ एकतर्फी उडानको मूल्य झन्डै ५० हजार नेपाली रुपैयाँ रहेको यहाँ रहेका ट्राभल्सहरूले जनाएका छन् । त्यही पैसामा पनि सजिलै टिकट पाउन नसकिएको यात्रुहरूको गुनासो छ ।  

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि गएको वैशाख २३ गतेमध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । उडान रोक्दा घर फर्कन्न टिकट हातमा लिएका यात्रुहरू समेत यूएईमै रोकिएका छन् ।

कतिपयले उच्च जोखिम मोल्दै दुबई दिल्ली हुँदै पनि यात्रा गरेका छन् । यूएईमै अड्किएका कतिपय श्रमिकको भने भिसा अवधिभन्दा धेरै बसेकाले ओभरस्टे बापतको जरिबाना पनि सुरु भइसकेका छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

3 Comments

  • Durga Prasad Dhakal

    June 16, 2021, 7:52 a.m.

    जुन देशले प्रतिबन्ध लगाएको छैन, त्यो देशमा चाहीँ नियमित उडान किन शुरु गर्दैन ??

  •  0 Reply
  • Raj Kishor Singh

    June 15, 2021, 6:50 p.m.

    यस्तो डाटा हेर्ने हो भने खाडी देशमा कोभिडको संक्रमण नेपालमा भन्दा धेरै कम छ , अनि प्राय: सबैले पहिलो डोजकोखोप पनि लगाइसकेका छन् / तैपनि नेपाल सरकारले त्यही देशमा किन उडान रोक लगाएको ?? एकदुईवटा देशको हवाईउडान खोल्नुभन्दा सबै गल्फ अर्थात खाडी देशमा एकैपटक फ्लाइट सुचारु गरे हुन्छ पुरै मापदण्डका साथ / नेपालमा सरकारले क्वारेन्टिनको नियम लगाएकै छ , तसर्थ सबै खाडीका राष्ट्रवाट हवाई उडान शुरु गरे नेपाली कामदारलाई सहज हुन्थ्यो /

  •  0 Reply
  • sushil pakhrin tamang

    June 15, 2021, 6:34 p.m.

    म हाल मलेशियामा छु मेरो करार अवधि पनि सकिसकेउ हाम्रो कम्पनी पनि लकडाउनले गर्दा बन्द भएको छ फ्लाइट पनि खुलेको छैन, नेपाली दूतावासलाई इमेल गरेको, "कृपया धैर्य गर्दिनु होल फ्लाइट छिटो भन्दा छिटो खुलाउन नेपाल सरकारलाई भनेको छु"भन्छन् तर फ्लाइट कहिले खुल्ने हो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया