यूएईमा कार्यरत नेपालीले उठाए ४७ लाख, ५९ हजार पीसीआर कीट नेपाल पठाउने

 असार ६, २०७८ आइतबार १७:२२:३२ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – नेपाललाई कोरोना विरुद्धको लडाइमा सहयोग गर्न यूएईमा कार्यरत नेपालीले झण्डै ४७ लाख रुपैयाँ सङ्कलन गरेका छन् ।

यहाँ कार्यरत नेपालीहरूले सम्पूर्ण संघसंस्थाको सहभागिता तथा यूएईमा रहेको नेपाली दूतावासको संरक्षणमा ‘मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर नेपाललाई सहयोग गर्न रकम सङ्कलन गरेका हुन् ।

जेठ ३ गतेबाट सुरु गरी असार ५ गतेसम्म सञ्चालन गरेको अभियानमा ४७ लाख रुपैयाँ सङ्कलन भएको र अहिले सहयोग सङ्कलन अभियान बन्द गरिएको संयुक्त राहत सङ्कलन समितिका प्रवक्ता तथा नेपाली समाज यूएईका महासचिव बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । 

सङ्कलन भएको रकमबाट नेपालमा कोरोना परीक्षणका लागि ‘पीसीआर टेस्ट किट’ पठाउने तयारी गरिएको संयुक्त राहत सङ्कलन समितिले जनाएको छ ।

अभियानले यस अघि नेपालमा भ्याक्सिन पठाउने गरी सहयोग अभियान सुरु गरेको थियो । तर भ्याक्सिन खरिद तथा नेपालसम्म लैजाने ढुवानीका लागि दुई देशबीच सम्झौता हुनुपर्ने लगायत अन्य मापदण्ड पूरा गर्नुपर्ने भएकाले थप समय लाग्न सक्ने भन्दै आवश्यकताका आधारमा परीक्षण कीटका लागि प्रक्रिया अगाडि बढाएको हो ।

समितिले पीसीआर किट पठाउन यूएईको स्वास्थ्य बजारमा मूल्य (कोटेसन) मागेको थियो । समितिले यूएईका बहु प्रतिष्ठित ६ वटा कम्पनीबाट कोटेसन जम्मा गरी आस्तर ग्रुपको आस्तर फार्मेसीमार्फत खरिद गरी किट पठाउन लागेको हो । कम्पनीले प्रति किट २.४५ यूएई दिर्हाममा  पीसीआर परीक्षण किट उपलब्ध गराएको छ । समितिले यूएईको आल सार्क अस्पताल फुजेराह, थम्बे अस्पताल दुबई, एनएमसी अस्पताल यूएई, मिना मेडिकल सप्लाई, चाइनिज कम्पनी बायो टेक कर्पोरेसन  लगायत कम्पनीबाट पनि कोटेसन लिएको थियो ।

नेपाली समुदायसँग यस अघि पनि सहकार्य गर्दै आएको आस्तरले नेपालको महामारीमा सहयोग गर्ने भन्दै अन्य कम्पनीको तुलनामा उपयुक्त मुल्यमा स्तरीय पीसीआर किट दुबई विमानस्थलसम्म पुराइदिने गरी उपलब्ध गराउने भएपछि ५९ हजार थान पीसीआर किट खरिद प्रकृया अगाडि बढाएको हो । ५९ हजार थान पीसीआर किटको झण्डै ११ सय किलो सामाग्रीको ढुवानीको जिम्मा सरकारले लिने भएको छ ।

खरिद गरिएको किट नेपालसम्म पु¥याउन ढुवानीका लागि नेपाल सरकारले जिम्मा लिने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । दूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा नेपाल एयरलाइन्ससँग समन्वय गरेर आउँदो बुधवार २३ जुन वा दोस्रो विशेष उडानमार्फत आउँदा जुन ३० सम्म किट नेपाल पठाउने गरी काम गरिरहेको राजदूत ढकालले उज्यालोलाई जानकारी दिनुभयो । 

राजदूत ढकालले यूएईमा कार्यरत नेपालीले आफ्नो गाँस कटाएर सङ्कलन गरेको रकमले पीसीआर किट खरिद गरेर महामारीमा राज्यलाई सहयोग गर्नु उच्च प्रशंसनीय कार्य भएको बताउनुभएको छ ।

राहत संकलन अभियानमा यूएईमा प्रक्रिया वैचारिक सङ्गठन, नेपाल एसोसिएसन, नेपालीज बिजनेस काउन्सिल, एनआरएनए, नेपाली समाज यूएई तथा यसमा आबद्ध सम्पूर्ण जिल्ला, गाउँ, नगर, सङ्घसंस्था, आदिवासी जनजाति महासङ्घ लगायत सयभन्दा बढी नेपाली संघसंस्थाहरूले सहयोग गरेका छन् । 

यूएईबाट पठाइने ५९ हजार पीसीआर किट हरेक प्रदेशमा समान रूपमा वितरण गरिने भएको छ । यूएईबाट नेपाल पु¥याएर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको राहत समितिले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया