बडीमालिका पठाइयो सरकारी डोल

 साउन २५, २०७८ सोमबार २०:२४:० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको सदरमुकाम सिलगढीबाट आज सोमवार बाजुरामा रहेको बडीमालिका मन्दिरका लागि एक सरकारी डोल पठाइएको छ । जनैपूर्णिमाका दिन लाग्ने मेलाका लागि सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो ।

सिलगढीमा रहेको रुद्रध्वज गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा त्यो डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडीमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

राणाकालदेखि तत्कालीन डोटी गौणा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आए अनुसार आज सरकारी डोल पूजाआजा गरी सरकारी खर्चमै पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले बताउनुभयो ।

सरकारी डोल बडीमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ताको समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडीमालिकाका लागि अछाम, बाजुरा, बझाङ र डोटीबाट बर्सेनि डोल लैजाने चलन रहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडीमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र भएका कारण जनै पूर्णिमामा मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो ।

समुद्री सतहदेखि झन्डै चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीको यात्रा तथा दुई दिन पैदलयात्रा गर्नुपर्ने सिलगढीका स्थानीयवासी तेजबहादुर खड्काले बताउनुभयो ।  

सिलगढीबाट डोलको यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडीमालिकाले सबैलाई आशीर्वाद देऊन् भन्ने कामनासहित ठाउँ–ठाउँमा पानीका घडा र फूलमालाले स्वागत गर्ने गरेको सरकारी डोल लगेर बडीमालिका जान लाग्नुभएका मालपोत कार्यालय डोटीका कर्मचारी नारद गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँ–ठाउँमा फूलमाला र पानीका घडा राखेर स्थानीयवासीले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घडामा बडीमालिकाको प्रसाद राखेर आउँछौँ ।’ 

वर्षमा धेरै समय हिउँ पर्ने र सितिमिति नपग्लिने बडीमालिकामा बर्सेनि जनैपूर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया