कोदो खेती : लागत र मेहनत बढी, उत्पादन कम

 भदौ ८, २०७८ मंगलबार १३:२६:४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्राे, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो ।

पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएकाे वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५ मेट्रिक टन कोदो उत्पादन भएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुने अनुमान गरिएको छ ।

लमजुङमा काेदो खेतीको विस्तार हुन सकेको छैन, उत्पादन पनि बढ्न सकेको छैन । स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै गएको बरु सहर बजारका होटल, रेस्टुरेन्टमा कोदोको परिकार पाक्ने गरेको र बजारी क्षेत्रमा कोदोको परिकारको उपयोग बढेकाे कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रेग्मीले बताउनुभयो ।

धमाधम कोदो रोपाइँ

लमजुङमा अहिले धमाधम कोदो रोपाइँ भइरहेको छ । विभिन्न ठाउँका किसान अहिले बारीमा धमाधम कोदो रोप्न जुटेका हुन् ।

रेग्मीका अनुसार लमजुङकाे माथिल्लो भेगमा मध्य असारदेखि फाट्टफुट्ट रूपमा कोदो रोपाइँ सुरु हुन्छ । लमजुङमा मध्य भदौसम्ममा कोदो रोपाइँ गरिन्छ । अहिले ६० प्रतिशत हाराहारीमा कोदो रोपाइँ सकिएको उहाँले बताउनुभयो ।

लमजुङको इलमपोखरी, नौथर, पाचोक, गौँडा, नाल्मालगायतका ग्रामीण क्षेत्रमा कोदो खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा लार्फे, लाहुरे लगायतका स्थानीय जातका साथै डल्ले, ओख्ले लगायतका उन्नत जातका कोदोको खेती हुँदै आएको छ । लमजुङमा स्थानीय जातकै कोदोको खेती हुँदै आएको रेग्मीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया