साइकल समेत चलाउन दिएका थिएनन् घरमा, ११ वर्षका सुशान्तले चलाइदिए ट्र्याक्टर

 भदौ २३, २०७८ बुधबार १३:३७:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै काम गर्नलाई उमेरले छेक्दैन । यसको एक ज्वलन्त उदाहरण बनेका छन् डोटीको जोरायल गाउँपालिका–२ रिठा गाउँका ११ वर्षीय बालक सुशान्त पाठक ।

उहाँले ११ वर्षको नाबालक उमेरमा ट्र्याक्टर चलाएर सम्पूर्ण काम गर्न थालेका छन् । सुरु सुरुमा घरमा आमा, बुवाले ट्र्याक्टर चलाउन त परै जाओस् छुनसमेत नदिने गरेको भए पनि उनले लुकिछिपी चलाउने  गरेका थिए । अहिले सुशान्तले ट्याक्टर चलाउन सिकेपछि उनका बुवाले पनि कामका लागि ट्र्याक्टर दिने गरेको बालक सुशान्तले बताउनुभयो ।

‘घरमा ट्याक्टर थियो, बुवाभन्दा आमाले त छुनै दिनु हुन्नथ्यो, मैले बुवाले चलाएको ट्र्याक्टर हेर्थे अनि लुकिलुकी चलाउन सिकेँ’ उहाँले भन्नुभयो, ‘अहिले त सबै खुशी छन्, काम गर्न पनि ट्याक्टर दिन्छन् ।’

सुशान्तले ट्याक्टरको ट्रली जोड्ने, खेत जोत्ने, गिट्टी, बालुवा ल्याउन थालेपछि घरका मान्छेदेखि अन्य छरछिमेकमा रहेका मानिस पनि चकित परेका छन् । 

अहिले उनले चलाएको ट्याक्टर हेर्नेको उनको गाउँमा भीड नै लाग्ने गरेको स्थानीयवासी भगवती कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सानो बालक छ, मजाले ट्र्याक्टर चलाएर खेत जोत्नेदेखि सामान ढुवानी गर्छ, हामी त अचम्म परेका छौँ ।’

बच्चालाई चोट पटक लाग्ला भनेर आफूले साकल समेत चलाउन नदिएको तर छोराले आफै ट्र्याक्टर चलाउन थालेपछि आफू चकित परेको सुशान्तकी आमा धर्मा जोशी पाठकको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘साइकल पनि नचलाओस् भनेर मैले त्यसको खुट्टा नपुग्ने ठूलो साइकल किने, छोरो त ट्याक्टर चलाउने पो भयो, अचम्म नपरेर के गर्नु, खुसीसँगै चकित परेकी छु ।’

सुशान्तले ट्याक्टर, कार, मोटरसाइकल सबै चलाउन सक्षम भएका छन् । सानै उमेरमा ट्याक्टर, कार, मोटरसाइकल चलाउने सुशान्त सम्भवतः सुदूरपश्चिम प्रदेशमै पहिले बालक भएको उनका बुवा दीनेशराज पाठकले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मेरो छोरा अहिले ११ वर्षको भयो, उसले नौ वर्षदेखि ट्र्याक्टर चलाउन थालेको हो, सुदूरपश्चिममा पहिलो बालक होला यति सानो उमेरमा गाडी चलाउने व्यक्ति ।’

सुशान्तले ट्याक्टर चलाउन सिके सँगै उहाँका बुवालाई काममा पनि निकै हलुंगो भएको छ । तर नेपालको कानुनअनुसार १८ वर्ष उमेर नपुगी सार्वजनिक सडकमा सवारी साधन चलाउन पाइँदैन ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडरका प्रमुख हर्क साउदले १८ वर्ष भन्दा मुनिका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिन नमिल्ने हुँदा उनले गाडी चलाउन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशान्तले सानै उमेरमा आफ्नो कलाकौशल देखाए, त्यो राम्रो विषय हो, तर १८ वर्ष नपुगी चालक अनुमतिपत्र नदिइने नियम रहेकाले सडकमा चलाउन नपाइने नियम छ, सडकमा गाडी ल्याउनु भएन ।’
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया