सेती नदीले खतराको तह पार गर्‍याे , कहीँ सडक अवरुद्ध, कतै खेत बगायो

 कात्तिक २, २०७८ मंगलबार १०:४:५६ | विमल बिष्ट

डोटी – सेती नदीमा पानीको बहाव बढेको छ । लगातार तीन दिनदेखि परिरहेको वर्षाका कारण सेती नदीमा आएको बाढीले आसपासका क्षेत्रमा जोखिम बढेको छ । नदीको बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सेती नदी दिपायल सिलगढी जोड्ने पुलमाथि उक्लेको छ । यस्तै बाढीले पुल छोएपछि अहिले बिहानैदेखि पुलमा गाडी आवत जावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।

पुलमा आवत जावत बन्द गरिएपछि तराईबाट डोटीको जिल्ला सदरमुकाम सिलगढी लगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनाैँ गाडी अहिले यहाँको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रोकिएका छन् ।

बझाङमा सेती नदीमा आएकाे बाढीले खेत कटान गर्दै । तस्बिर : सुरेन्द्रकुमार सिंह

डोटीको गोपघाट र दिपायलको समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह निकै बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । 

वर्षातका कारण सोमबार दिउँसोदेखि यस क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण दिपायलका अनुसार यहाँका पहाडी जिल्लामा वितरण गरिएको ३३ केभीए प्रशारण लाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । 

नदीले यहाँ धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको छ । डोटी कालागाढका स्थानीय तेजबहादुर बोगटीले डोटीमा पनि धेरै ठाउँमा धान खेत बगाएको जानकारी दिनुभएको छ ।

नदीले बझाङमा पनि निकै क्षति पुर्याएको छ । कतिपय ठाउँमा सडक अवरुद्ध भएका छन् भने खेतहरु बगाएको छ । बिजुली, खानेपानी र नेपाल टेलिकमको सेवा समेत प्रभावित भएको छ । बझाङ् सुबेडाको सेराभंगाला खेत आधा बढी बगाएको सुबेडाका स्थानीय मकर रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया