सिन्धुलीमा वर्षासँगै आएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

 कात्तिक ३, २०७८ बुधबार ११:५:० | बाबुराम देवकोटा
unn.prixa.net

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको कालिआँपमा झरेको पहिरो

सिन्धुली – लगातार दुई दिनदेखिको वर्षाले सिन्धुलीमा पर्ने मध्यपहाडी लोकमार्गको ठाँउ–ठाँउमा पहिरो खसेर अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा आधा दर्जन भन्दा बढी ठाँउमा पहिरो खस्नाले यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार खुर्कोट–घुर्मी खण्डमा हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप, सोखुखोला र नागथान लगायतका ठाँउमा माथिबाट पहिरो आएको छ । पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा दशैँमा टिका लगाएर आफ्नो गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् ।

मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध हुँदा काठमाण्डौबाट पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, रामेछाप आवत जावत गर्ने गाडीहरु पनि बीच बाटोमा नै राेकिएका छन् । 

सुनकोसी नदी किनारको हैबार अक्करे भिरमा पाँच सय मिटर भन्दा धेरै क्षेत्रफलमा रहेकोे मध्यपहाडी लोकमार्गमा तीन ठाउमा पहिरो खसेको र सिमसिम पानी परिरहेकाले पहिरो पन्छाउने डोजर समेत पुग्न नसकेको खुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । विपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्गले छोएको सिन्धुली जिल्लामा अन्य दुई राजमार्गमा भने गाडीहरु चलिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया