ढिकी, जाँतोमा पिसेको अन्न स्वादिलो र पोसिलाे !

 कात्तिक १३, २०७८ शनिबार ८:२२:१८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – प्लास्टर गरिएको घरको पिँडी । पिँडीमा बिच्छ्याइएको परालको गुन्द्री । गुन्द्रीमाथि परम्परागत ढुङ्गाबाट बनेको जाँतो । त्यही जाँतोमा मकै पिस्न व्यस्त हुनुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–३ केराबारीका चन्द्रप्रसाद श्रेष्ठ।

उहाँले परम्परागत जाँतोमा मकै पिस्दै गरेको देख्दा/हेर्दा गाउँघरबाटै पछिल्लो समय हराउँदै गएको ढिकी, जाँतो संस्कृति र ग्रामीण परिवेश झल्किएको आभास गराउँछ । प्राय : फुर्सदको समयमा उहाँ घरमा पालिएका भैँसी र बाख्राका कुँडोका लागि यसरी नै जाँतोमा मकै पिस्नुहुन्छ । 

‘मिलमा मकै पिस्नको लागि टाढा पुग्नुपर्छ । कहिलेकाहीँ विद्युतको समस्याले अन्न मिलमा पुर्याए पनि पिसानीमा समस्या हुन्छ,’ हातो घुमाउँदै उहाँले भन्नुभयो, ‘त्यसैले घरमा पालिएका भैँसीबाख्राको कुँडोका लागि जाँतोमा मकै पिस्दै छु।’

उहाँका दुई छोरा केशवलाल श्रेष्ठले व्यावसायिक बाख्रा पालन र अर्का छोरा राजीव श्रेष्ठले व्यावसायिक रुपमा भैँसी पालन गर्नु भएको छ । उहाँका अनुसार धान, मकै, कोदो लगायतका अन्न कुटानी/पिसानीका लागि केराबारीबाट भँगेरीसम्म पुग्नुपर्छ । मिलसम्म पुगेर कुटानी, पिसानी गरी घण्टौँको बाटो धाएर उकालो उक्लनुपर्छ । मिलमा सजिलो भए तापनि टाढा पुग्न समस्या भएकाले सकेसम्म घरमै जाँतोमा मकै पिस्ने गरेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय गाउँघरबाट ढिकी, जाँतोमा कुटानी, पिसानी गर्ने प्रचलन धेरै नै हराउँदै गएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गाउँघरमै मकै, कोदोको खेतीका साथै परिकारको उपयोग पनि हराउँदै गएको उहाँको अनुभव छ ।  

‘गाउँगाउँमा विद्युतीय मिल छन् । छिटो, छरितो सजिलो हुने भएकाले पनि ढिकी, जाँतोमा अन्न पिस्ने चलन हराउँदै गएको छ,’ ६५ वर्षे श्रेष्ठले भन्नुभयो, ‘त्यसो त अहिले ग्रामीण क्षेत्रमा समेत मकै, कोदोको खेती हुनै छाडेको छ ।’

श्रेष्ठ परिवारले घरमा कुँडोका लागि आवश्यक मकै गाउँमै उत्पादन गर्दै आएका छन् । अहिले गाउँगाउँमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि परम्परागत ढिकी, जाँतोको प्रयोगमा कमी हुँदै आएको छ ।  

जाँतोमा पिसेको अन्न स्वादिलो र स्वस्थकर

विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै पानी घट्ट, ढिकी, जाँतो रहेकोमा अहिले लोप हुने अवस्थामा पुगेको छन् । ढिकी, जाँतोमा पिसेको खाद्यान्न पोसिलो र स्वादिलो हुने पुराना पुस्ता बताउँछन्।

‘मिलमा पिसेको मकै, कोदो मसिनो त हुन्छ । तर जाँतोमा पिसेको अन्न स्वादिलो र स्वस्थकर हुन्छ,’ उहाँले भन्नुभयो। पाको पुस्ताका अनुसार विद्युतीय मिलमा अन्न पिसाउँदा त्यति पोसिलो र स्वादिष्ट  हुँदैन। तर अहिले मानिसहरूलाई स्वास्थ्यको लागिभन्दा पनि छिटो, छरितो चाहिने भएकाले प्राय : धेरैले मिलको प्रयोग गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया