पर्यटन मन्त्री आले र इजरायली राजदूतबीच भेट–वार्ता

 कात्तिक २९, २०७८ सोमबार १७:३७:३२ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज सोमवार शिष्टाचार भेट–वार्ता गर्नुभएको छ । भेट दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । 

मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाण्डौबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिनुभयो । उहाँले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारीसमेत दिनुभयो ।

साथै भेटमा मन्त्री आलेसँग राजदूत गोदरले दुई हप्ताभित्रमा कम्तीमा एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र त्यसका लागि नेपाल वायु सेवा निगमको ए ३३० जहाज भाडामा लिन इच्छुक रहेको बताउनुभयो । यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडा दरका विषयमा चासो व्यक्त गर्नुभएको थियो । 

यस्तै राजदूत गोदरसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल र इजरायलबीच सिधा हवाई सम्पर्कका लागि आफूहरू तयार रहेको बताउनुभएको थियो ।

नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडा दर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासनसमेत दिनुभयो । भेटवार्ताकै क्रममा राजदूत गोदरले गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिलिम हेर्न मिल्ने प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिलिम हेर्ने कार्यक्रमको प्रमुख आतिथ्यका लागि मन्त्री आलेलाई निमन्त्रणसमेत गर्नुभयो । दुई हप्तापछि त्यो कार्यक्रमको काठमाण्डौको सोल्टी होटलमा उद्घाटन गरिने जनाइएको छ ।

भेटकै क्रममा मन्त्री आलेले नेपालको विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आउँदा दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइदिन वा सरकार–सरकार (जीटूसी) मार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गर्नुभयो । त्यस विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया