तरकारीमा विषादीको मात्रा उच्च, जाेखिममा उपभोक्ता !

 भदौ २१, २०७५ बिहिबार १८:५०:१० | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौं – बजारमा पाइने तरकारीमा विषादीको मात्रा उच्च रहेकाले राम्रोसँग पखालेर मात्रै तरकारी खान कृषि प्राविधिकले सुझाव दिएका छन् । किसानले तरकारी रोप्ने बेलादेखि भण्डारण गर्ने बेलासम्म बिषादीको अधिक प्रयोग गर्ने भएकाले तरकारीमा बिषादीको मात्रा उच्च रहेको प्राविधिकको भनाई छ ।

‘किसानले प्राविधिक र वैज्ञानिकसँग कुनै सल्लाह नै नगरी तरकारीमा विषादी हाल्ने गरेका छन्’ कृषि प्राविधिक भरत लामिछाने भन्नुहुन्छ, ‘मनलाग्दी हालेको विषादी तरकारीको लागि उपचारभन्दा मानिसलाई विष सरह हुन्छ ।’ 

उहाँका अनुसार बजारमा पाइने आलु र गोलभेंडामा विषादीको मात्रा उच्च छ । तरकारीमा रोग, किरा लागेमा कृषि प्राविधिकको सल्लाह अनुसार उचित मात्रा मिलाएर छर्नुपर्ने हुन्छ । तर किसानले रोग, किरा नलागोस भनेर साना बेर्नामै विषादी हाल्नाले तरकारीमा विषादीको मात्रा उच्च भएको लामिछानेको भनाई छ ।
‘विषादी भनेको विष नै हो । त्यो औषधी होइन । सन्तुलित मात्रा मिलाइएको खण्डमा मात्र त्यो बाली वा तरकारीमा विषादीका रुपमा प्रयोग गर्न सकिन्छ । तर मनलाग्दी र हचुवाका भरमा विषादी छर्दा मानिसको स्वास्थ्यमा असर गरिरहेको छ’ उहाँले भन्नुभयो । 

ग्यास्ट्रिकदेखि क्यान्सरसम्म ! 

विषादी धेरै भएका तरकारी नपखाली खाएमा ग्यास्ट्रिकदेखि क्यान्सरको जोखिम हुन्छ । समयमै मात्रा पु¥याएर खाना खान हेलचेक्र्यार्इं गर्ने बानीका कारण अधिकांश नेपाली ग्यास्ट्रिकको शिकार हुने गरेका चिकित्सकले बताउँदै आएका छन् ।

पछिल्लो समय पानी पनि पर्याप्त मात्रामा नपिउने र विषादी धेरै भएका तरकारी खाँदा ग्यास्ट्रिकसँगै क्यान्सरको जोखिम बढेको चिकित्सकको भनाई छ । 
नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको बाली रोग विज्ञान महाशाखाकी वैज्ञानिक चेतना मानन्धरले किसानले विषादी प्रयोग गर्दा प्राविधिक तथा वैज्ञानिकसँग सल्लाह कम गर्ने गरेको बताउनुभयो ।

‘हामीकहाँ आउने किसानसँग सोधपुछ गर्दा पनि प्राविधिकसँग परामर्श नगरी विषादी हाल्ने गरेको पाइएको छ । किसानले चाहिनेभन्दा बढी मात्रामा विषादी हालेका तरकारी बजारमा पनि लगिएका छन् । जसको असर प्रत्यक्ष रुपमा उपभोक्तामा परेको छ ।’ उहाँले भन्नुभयो । 

चेतनाको कमी 

किसानलाई विषादी र त्यसको असरबारे जानकारी नै नभएको उहाँको भनाई छ । पर्याप्त जानकारी नभएर नै किसानले रोग, किरा लाग्दा अन्तिम समयमा मात्र प्राविधिकसँग जाने गर्नाले पनि धेरै नोक्सानी व्यहोर्नु परेको छ ।  

‘घर नजिकैका एग्रोभेटमा सजिलै पाइने भएकाले किसानले विषादीको प्रयोगमा कठिनाई झेल्नुपर्दैन । प्रयोग गर्न कठिनाई नभएपछि ध्यान दिन धेरै किसानले आवश्यक ठानेका हुँदैनन् । तर यसले सधै बजारबाट तरकारी किनेर खाने उपभोक्तालाई ठूलो असर गरिरहेको हुन सक्छ ।’ वैज्ञानिक मानन्धरले बताउनुभयो ।

बाली तथा तरकारी लगाउँदा मल र पानीको सन्तुलन नमिल्दा पनि रोग किरा लाग्ने गरेका उहाँको भनाई छ । तर यसको समाधानमा धेरै विषादी हाल्दा उल्टो असर भइरहेको छ ।

‘धानबालीमा अहिले मरुवा रोगको प्रकोप देखिएको छ । यो रोग लाग्नुमा रासायनिक मलमा नाइट्रोजनको मात्रा धेरै भएर हो । तर किसानले जानेर वा नजानेर बढी मात्रामा विषादी छरिदिन्छन् । जसको असर सोझै मानिसको स्वास्थ्यमा पर्दछ ।’ वैज्ञानिक मानन्धरले बताउनुभयो ।

बजारबाट तरकारी किनेपछि राम्रोसँग पखालेर र पकाएर मात्रै खान पनि उहाँले सुझाव दिनुभयो । तीन देखि चार पटक राम्रोसँग पखाल्दा, केही दिन घाममा सुकाउँदा र राम्रोसँग पकाएर खाँदा केही हदसम्म बिषादीबाट बच्न सकिने वैज्ञानिक मानन्धरको सुझाव छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया