निगम व्यवस्थापनलाई मन्त्री आलेकाे आग्रह– ‘विद्युत् प्राधिकरणबाट पाठ सिकेर काम गर्नुस्’

 पुस १९, २०७८ सोमबार १५:४६:३० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल विद्युत् प्राधिकरणबाट पाठ सिकेर काम गर्न नेपाल वायु सेवा निगमकाे व्यवस्थापनलाई आग्रह गर्नुभएकाे छ । 

आज साेमवार विद्युत् प्राधिकरण र वायु सेवा निगम (नेपाल एअरलाइन्स) बीच सहकार्य गर्ने समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रममा मन्त्री आलेले यस्ताे आग्रह गर्नुभएकाे हाे । ‘डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर निगम व्यवस्थापनले काम गराेस्’, उहाँले भन्नुभयाे ।  

पर्यटनमन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गर्नुभएको हो । निगम र प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार सम्झौता भएको हाे । 

 

कार्यक्रममा मन्त्री आलेले अरबाैँकाे ऋणमा रहेको निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सके त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन सहयाेग पुग्ने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘निगम डुब्ने अवस्थामा छ, अब विद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुने छ ।’  

साथै मन्त्री आलेले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेस गरिसकेकाले यसबारेमा छिट्टै निर्णय गरिने पनि बताउनुभयो ।

यस्तै निगमले प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी विद्युत् प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि पाँचदेखि दश प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । प्राधिकरणका कर्मचारी तथा परिवारका सदस्यले टिकटमा छुट पाउन निगमको मुख्यालयबाटै मात्रै टिकट खरिद गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया