मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालाकाे विषयमा छानबिन गर्न समिति गठन

 पुस २३, २०७८ शुक्रबार १६:३४:५ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । 

नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि आज शुक्रवार याे समिति गठन गरिएको हो । समितिमा पाँच जना सदस्य रहेका छन् । यस समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन र देवीप्रसाद बराल रहनुभएको छ भने मन्त्रालयका लेखाका उपसचिव सदस्य रहनुभएको छ ।

यस समितिलाई सात दिनभित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । 

पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको छानबिनका लागि समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो । यस धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । यस समूहले पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवम् धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ । 

यस धर्मशालाका विषयमा छानबिनका लागि युवा सङ्घ नेपालको टोलीले पनि मन्त्री आलेलाई आज ज्ञापनपत्र पेस गरेको छ । मित्र राष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जासपद विषय हो, यस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

ज्ञापनपत्र लिँदै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने र गलत प्रयोजनमा दिनेलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्तिमा रजाइँ गरौँला नसोचे हुन्छ, सार्वजनिक सम्पत्ति एक इन्च पनि छोड्दिनँ, मिच्ने र गलत प्रयोजनमा दिनेलाई कारबाही गर्छु ।’ 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया