अपाङ्गता भएका बालकलाई विद्यालय भर्ना गराउन एकखुट्टाले साईकल यात्रा

 जेठ २०, २०७५ आइतबार १९:५१:५४ | श्याम बिसी
unn.prixa.net

मुगु – साईकलको पछाडि नेपालको झण्डा, अगाडिपट्टि लेखिएको छ, अपाङ्गता भएका नागरिकको समान सहभागिता, सामाजिक न्यायमा सुनिश्चितता लम्कीदेखि रारासम्म । यो साईकल एउटै खुट्टाले चलाएर यमलाल रसाइली कैलालीबाट मुगुको रारा तालसम्म पुग्नुभयो ।

२१ वर्ष भयो, कैलालीका यमलाल रसाइले एक खुट्टाले साईकल चलाउन थालेको । अहिलेसम्म उहाँ एउटै खुट्टाले साईकल चलाउदै नेपालका ३८ जिल्ला पुग्नुभएको छ । यसपटकको रारा यात्राको उद्देश्य भने अरुबेलाको यात्राभन्दा बेग्लै छ । र यसो गर्नका लागि उहाँलाई घच्घच्याएको हो, अपांगता भएका एक बालकलाई विद्यालय पठाउन नसकिएको भन्ने खबरले ।

गएको वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्नुभयो । उहाँले त्यहीबेला विद्यालय भर्ना अभियान समेत सुरु गर्नुभयो । तामझामका साथ पर्यटन वर्ष र भर्ना अभियान उद्घाटन गरिए पनि एकजना अपांगता भएका बालकलाई अपांगमैत्री विद्यालय नभएको भन्दै भर्ना अभियानमा संलग्न नगराइएको सुनेपछि आफूलाई दुख लागेको र उनलाई विद्यालय भर्नाका लागि पहल गर्न आफू साइकल चढेर रारा पुगेको उहाँले बताउनुभयो ।

रारा पुगेर प्रधानमन्त्रीले भर्ना गर्न नसकेका बालक पुन्नबहादुर कुलाललाई भेट्ने र विद्यालय भर्नाका लागि पहल गर्ने योजनाले आफूलाई रारा पुर्‍याएको उहाँले बताउनुभयो । शारिरीक रुपमा अशक्त भएकाहरुले पनि मुलुकको पर्यटनलाई प्रवद्र्धन गर्न सक्ने र केही गर्न सक्छन भन्ने सन्देश दिन आफूले कठिन साइकल यात्रा सुरु गरेको उहाँको भनाई छ ।

पुन्नबहादुर गाउँमा भएको र गाउँसम्म साइकल लैजान नसकेकाले आफूले भेट्न नपाएपछि यमलालले राराबाट छायानाथ रारा नगरपालिकाका मेयर हरिजँग शाहीलाई फोन गरेर पुन्नबहादुरलाई विद्यालय पठाउने पहल गरिदिन आग्रह गर्नुभयो । जवाफमा मेयर शाहीले पुन्नबहादुर विद्यालय भर्ना हुन नपाएको भए तत्काल उनलाई विद्यालय पठाउने ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

अहिलेसम्मको यात्रा 

यमलाल एकै खुट्टाले चलाएर पनि एक दिनमा दुई सय किलोमिटरसम्मको यात्रा गर्न सक्ने बताउनुहुन्छ । उहाँले २०५९ मा महाकालीदेखि मेचीसम्म साइकलबाटै यात्रा पूरा गर्नुभयो । उहाँ भारतका विभिन्न ठाउँमा भएका साईकल दौड प्रतियोगितामा पनि सहभागि हुनुभयो । जहाँ उहाँले साङ्ग व्यक्तिसँगै प्रतिस्पर्धा गर्नुभएको थियो । 

‘शुरुमा त अब के पो गर्न सकिन्छ जस्तो लाग्थ्यो, अरुले पनी विश्वास गरेनन्’, यमलालले भन्नुभयो, ‘अहिले गर्दै गए झन ठूला अठोटहरु मनमा आउछन् ।’
रसाईलीको परिवारमा श्रीमती, दुई सन्तान र आमा छन् । कैलालीको लम्कीमा उहाँको सिलाई कटाईको तालिम दिने ट्रेनिङ्ग सेन्टर छ । 


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्याम बिसी

मुगुका उज्यालो सहकर्मी श्याम बिसी रेडियो मुगुमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया