सुदूरपश्चिममा ‘चेली त्यार’को रौनक

 माघ १२, २०७८ बुधबार १२:३१:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – माघ महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा ‘चेली त्यार’को रौनक छाएको छ । यहाँको स्थानीय भाषामा पर्वलाई त्यार भनिन्छ र छोरीलाई चेली । 

विवाह गरेर पराइ घर गएका छोरी चेलीलाई विभिन्न किसिमका परिकार पकाएर कोशेली दिने एक प्रकारको प्रथा हो चेली त्यार । कतै अन्नी दिने तथा कतै त्यारमाडो दिने पनि भन्ने गरिन्छ । 
कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको भए पनि यहाँ भने डोटी सहित यहाँका विभिन्न जिल्लाहरुमा चेली त्यार सुरु भएको हो । 

त्यारमाडो दिन यहाँका महिलालाई अहिले भ्याइँ नभ्याइँ भएको छ । जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरु तथा दिदी, फुपुको घर जान लागेका भाइ बहिनी, भदा भदै प्रशस्तै भेटिने गरेका छन् ।

 विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर ‘चेली त्यार’ (त्यारमाडोे, अन्नी) दिने चलन रहेको छ । 

आफ्ना माइती नभएका अर्थात आमा-बुवा, दाइ-भाउजू नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ गैराकी बाटुली विक बताउनुहुन्छ । 

‘महिनाभरि माइतीले छोरीलाई रोटी (त्यारमाडो ) दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त यो महिनाभरि रोएरै बस्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘माइती सम्झिँदा रुन मात्रै मन लाग्छ ।’

माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएरै बिताउने गर्छन् । ठाडी भाकामार्फत विरह पोख्ने गर्छन् । यस्तै माघ महिनाभरि यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो ल्याउलान् भन्ने पर्खाइमा बस्छन् । 

‘बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् की भन्ने आशले मन खुशी भएको हुन्छ’, जोरायल गाउँपालिका–३ की यसोदा मल्लले भन्नुभयो, ‘बेलुकीसम्म कोही आउँदैन, अनि मन खिन्न हुन्छ ।’

सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको बुढापाकाहरु बताउछन् । छोरी धनी होस् वा गरिब, नजिक होस् वा टाढा त्यार अनिवार्य दिनैपर्छ ।

छोरीलाई दिइने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडा, तरुल लगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्तादिन पुग्नेगरी दिने चलन छ ।

‘एक छोरीको घरमा हप्ता दिन पुग्नेगरी त्यार दिनुपर्छ, कसै कसैका त पाँचदेखि सात छोरी हुन्छन् उनीहरुलाई निकै दुःख हुन्छ’, दिपायलकी स्थानीयवासी हिरादेवी कठायतले भन्नुभयो, ‘त्यार नदिई नहुने, दिँदा आफूलाई घरमा पछि खान पुग्दैन, कतिपएलाई साह्रै समस्या हुन्छ ।’

सुदूरपश्चिममा माघ महिनालाई धार्मिक महिनाका रुपमा लिने गरिन्छ । यो महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनीलाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने जनविश्वास पनि रहिआएकाे छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया