शिक्षालयमा भएको अनियमितताका विषयमा छानबिन सुरु

 माघ २५, २०७८ मंगलबार १९:५९:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डाेटीकाे दिपायलमा रहेकाे सेती प्राविधिक शिक्षालयमा भएको अनियमितताका विषयमा छानबिन सुरु भएकाे छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उपनिर्देशक देवसिंह धामीको नेतृत्वमा छानबिन सुरु भएकाे हाे । शिक्षालयमा आर्थिक लगायत अन्य विभिन्न विषयमा अनियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भक्तपुरले धामीको नेतृत्वमा छानबिन समिति खटाएको हो ।

समितिले आज मङ्गलवारदेखि आफ्नो काम सुरु गरेको संयोजक धामीले जानकारी दिनुभयो । याे समितिमा जिल्ला प्रशासनले लेखा शाखाबाट एक जना, कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाट एक जना इन्जिनिएर खटाइएको छ । समितिले छानबिनका लागि आवश्यक कागजातहरू सङ्कलन गरेको छ । समितिले विशेष गरेर भवन निर्माणमा भएको अनियमितता, शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवले कुखुराका चल्ला खरिदमा गरेको बार्गेनिङ, विद्यार्थी भर्नामा भएको आर्थिक अनियमिततालगायतका विषयमा छानबिन गर्ने संयोजक धामीले बताउनुभयो । 

यसैगरी विद्यार्थीको पाेसाक खरिद, शिक्षालयमा अहिलेसम्म खरिद भएका मेशिनरी सामग्री, एग्रोभेटका सामग्री, मसलन्द, गाडी मर्मत तथा तेल खर्च, शैक्षिक सामग्री खरिद लगायतका ठाउँमा पनि आर्थिक अनियमितता भएको भन्ने उजुरी परेकाले यस विषयमा पनि छानबिन गरिने भएको छ । आर्थिक अनियमितताको आरोपपछि शिक्षालय प्रमुख यादवलाई प्रमुखको जिम्मेवारीबाट हटाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया