निरीक्षण नहुँदा सञ्चालनमा आएन दिपायलको 'ट्रायल सेन्टर'

 फागुन २, २०७८ सोमबार ८:४१:५१ | विमल बिष्ट
unn.prixa.net

डोटी - दिपायल राजपुरमा निर्माण भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन। सम्बन्धित निकायले समयमै निरीक्षण नगर्दा सेन्टर सञ्चालनमा आउन नसकेको हाे । 

दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको याे सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण अहिलेसम्म सञ्चालनमा नआएको भन्दै यहाँका नागरिकहरु आक्रोसित भएका छन् । सञ्चालनमा नआउँदा ट्रायल सेन्टर  अहिले अलपत्र जस्तै भएको छ ।

तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते शिलान्यास गर्नु भएको ट्रायल सेन्टरको २०७६ साल जेठ मसान्तभित्र भौतिक संरचना निर्माण गरिसक्ने र असार महिनादेखि सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । तर निर्माणको जिम्मा पाएको निकायले दुई वर्षभन्दा बढी समय लगाएर निर्माण कार्य सम्पन्न गरे पनि अहिले यस सेन्टरको निरीक्षण तथा काम सुरु गर्न अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्र शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'हामीले लाइसेन्सका लागि हजारौँ खर्च गरेर कैलाली पुग्नु परेको छ, आफ्नै घर छेउमा ट्रायल सेन्टर निर्माण भएको छ, तर सञ्चालनमा नआउँदा समस्या भयो ।' यहाँका पहाडी जिल्लाहरु अछाम, बाजुरा तथा डोटीका नागरिकको सहजताका लागि याे ट्रायल सेन्टर निर्माण गरिएको हो ।

प्रदेश सरकारको ३७ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएकाे ट्रायल सेन्टर सञ्चालनमा नआउँदा यहाँका नागरिकहरुलाई समस्या भएको राजपुरका अर्का स्थानीयवासी कर्णबहादुर कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'करोडौँ खर्च गरेर ट्रायल सेन्टर निर्माण भयो, सञ्चालनमा आएन यो भन्दा दुःखको कुरा अरु के होला ?' भौतिक पूर्वाधार मन्त्रालयले समयमै ट्रायल सेन्टरको निरीक्षण गरेर निर्णय नदिँदा समस्या भएको यातयात व्यवस्था कार्यालय दिपायल राजपुरले जनाएको छ ।

ट्रायल सेन्टर निर्माण भइसकेको जानकारीसहित निरीक्षण गरिदिन गएको साउन ५ गते मन्त्रालयलाई पत्र पठाएको भए पनि याे पत्रको कुनै जवाफ नआएका कारण सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख भरत नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'ट्रायल सेन्टर निर्माण भइसकेको र निरीक्षणका लागि हामीले साउन महिनामै पत्र पठाएका छौँ, तर निरीक्षणका लागि प्राविधिक टोली नआएका कारण काम सञ्चालन हुन सकेकाे छैन ।' उहाँका अनुसार भौतिक संरचनाको निरीक्षण भएपछि मात्रै ट्रायल लिने अनुमति प्राप्त हुने छ र प्रक्रिया सुरु हुनेछ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात क्षेत्रका शाखा अधिकृत मोहनचन्द्र जोशीले कामको लोड बढी भएका कारण दिपायलको राजपुरमा निर्माण सम्पन्न भएको ट्रायल सेन्टरको निरीक्षण गरी अनुमति दिन नसकिएको बताउनुभयो ।

यातायात व्यवसायीको अनुमति पत्र नवीकरण गर्नका लागि राजपुरमा यातायात व्यवस्था कार्यालयकाे स्थापना गरिए पनि आवश्यक जनशक्ति नहुँदा काम पनि सुरु हुन सकेको छैन । कार्यालयमा तोकएका दरबन्दी अनुसारका कर्मचारी नआउँदा काम गर्न निकै सकस भएको निमित्त कार्यालय प्रमुख भरत नेपालीले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, 'यातायात व्यवस्था कार्यालय स्थापना गरियो तर तोकिएका दरबन्दी अनुसारका कर्मचारी पठाएन अनि कसरी काम गर्नु ?'

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया