पशुपतिमा फूल–प्रसाद बिक्री गर्ने पसलहरू व्यवस्थित गर्न मन्त्री आलेकाे निर्देशन

 फागुन २, २०७८ सोमबार २०:२२:१२ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल–प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

आज सोमवार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालासँगको छलफलका क्रममा मन्त्री आलेले फूल–प्रसाद बिक्री गर्ने ठाउँ साघुँरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण ती पसलहरू व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको हो ।

मन्त्री आलेले पशुपति क्षेत्र सफा राख्न निर्देशन दिँदै भन्नुभयाे, ‘पशुपतिनाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् ।’ पशुपति क्षेत्रमा फूलप्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित ठाउँमा सार्न र उनीहरूकाे समस्या एक हप्तामा समाधान गर्नसमेत मन्त्री आलेले आग्रह गर्नुभयो ।

फूलप्रसाद बिक्री गर्नका लागि पशुपति क्षेत्रमा ६५ वटा पसल निर्माण भएकाले केहीलाई तत्काल त्यहाँ सार्न तथा बाँकी अपुगका लागि नयाँ पसल निर्माण गर्नसमेत उहाँले निर्देशन दिनुभएको छ । 

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेको क्रियापुत्री बस्ने भवनमा चौबीसै घण्टा पानी र बिजुलीकाे व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।

यसैबीच उहाँले हवाई टिकटमा राखिँदै आएका रक्सीका विज्ञापनलाई हटाएर अब नेपालका धार्मिक स्थल तथा पर्यटकीय स्थलका फोटो राख्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

त्यही कार्यक्रममा सहभागी हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पशुपतिनाथ क्षेत्रमा फूलप्रसाद बिक्री गर्ने व्यापारीहरूलाई आपसी सहमतिमा आफू बस्ने ठाउँको व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया