विश्वास गर्नुस्, निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु : मन्त्री आले

 फागुन ४, २०७८ बुधबार १४:४४:२३ | विमल बिष्ट
unn.prixa.net

बारा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । 

आज बुधवार बाराको निजगढमा रिपोर्टर्स कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउने छौँ ।’

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विभिन्न दलका शीर्षस्थ नेता, मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले जानकारी दिनुभयो । उहाँले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको चुनावभन्दा अगाडि नै सुरु हुने समेत दाबी गर्नुभयो । 

निगजढ विमानस्थलको काम कहिले सुरु हुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले भन्नुभयो, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी चाँडै काम सुरु गर्नेछौँ ।’ 

यसैगरी मन्त्री आलेले सरकारले दुई देशका सरकारका बीच (जीटुजी), लगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा विमानस्थलको काम सुरु गर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलहरूको पनि सहमति भएकाले जसरी भए पनि विमानस्थल निर्माणको काम सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

‘प्रेम आले काम गर्न आएको मन्त्री हो, कुर्सीमा बस्न आएको होइन । वर्षाैँदेखि रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गर्नेदेखि रोयल्टी तिर्न लगाएको छु’, उहाँले थप भन्नुभयो, ‘विश्वास गर्नुस्, निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु ।’ 

काठमाण्डौपछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थ मन्त्री जर्नादन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले गुरुयोजना तयार भएको र अब चाँडै काम सुरु हुने मन्त्री आलेले दाबी गर्नुभयो । 

निजगढ विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका १६ टाङिया वस्ती पुनर्स्थापना गर्नुपर्ने मुख्य काम रहेकाले यहाँको वस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयवासीको माग छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया