हिमपात र वर्षाले बन्द भएका डोटीका ग्रामीण सडक अझै खुल्न सकेनन्

 फागुन ५, २०७८ बिहिबार १०:२८:१२ | विमल बिष्ट
unn.prixa.net

डाेटी - दुई हप्ता पहिलेकाे भारी हिमपातसँगै परेको वर्षाका कारण बन्द भएका ग्रामीण सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । 

समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फास्ट ट्रयाक लगायत सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षातले पहिरो खस्दा सडक सञ्चालनमा आउन नसकेकाे हाे । हिमपात र वर्षातका कारण बन्द भएका अन्य ग्रामीण क्षेत्रका सडककाे समेत मर्मत नहुँदा गाडी चलाउन सास्ती हुने गरेकाे छ । 

सडक सञ्चालनमा नआएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म लाग्ने गरेको छ । वर्षातले क्षतविक्षत भएका सडक नियमित मर्मत नहुँदा यात्रु गाडी चढ्नै डराउन थालेका छन् भने ठाउँ–ठाउँमा पहिरो र हिलाम्य सडक हुँदा गाडी चलाउनै जाेखिम भएकाे शैलेश्वरी यातायात व्यवसायी प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'वर्षा र हिउँले गाउँका सडक भताभुङ्ग भएका छन्, मर्मत नगरिँदा गाडी चलाउन गाह्राे भएको छ, जोखिम पनि बढेको छ ।'

वर्षा र हिमपातले यहाँका तल्कोट, मुडभारा, फलेडी, पूर्वेबगरलगायतका सडक बन्द भएका हुन् । यहाँका नागरिकले जोखिम मोलेरै याे सडकमा यात्रा गर्ने गरेका छन्। सडकको अवस्था दयनीय भए पनि मर्मतमा भने कसैको ध्यान नपुगेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी माया बमले जानकारी दिनुभयो ।

सडक मर्मत नहुँदा बिरामीले समेत सास्ती भोग्नु परेकाे छ । जिल्लाका ग्रामीण सडकहरु मात्र नभइ, मुख्य राजमार्गको अवस्था झनै दयनीय छ । यहाँका तीन जिल्ला जोड्ने डा. केआइसिं राजमार्गको रडुवामा गएको असोजमा आएको बाढी पहिराेले सडक नै बगाएपछि अहिले अस्थायी रुपमा सडक निर्माण गरी गाडी सञ्चालन गरिँदै आएको छ ।

सडकमा ठूला मालवाहक गाडी चलाउन निक्कै जोखिम हुँदै आएको ट्रक चालक प्रकाश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, 'काम चलाउन साँघुरो सडक बनाइएको छ, कति बेला दुर्घटना हुन्छ थाहा छैन, ज्यान जोखिममा राखेर गाडी चलाउन बाध्यछौँ ।'

यसैगरी जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना जोड्ने तथा शान्तिनगरदेखि नारीदाङ जोड्ने सडक पनि मर्मत नभएका कारण गाडी सञ्चालनमा समस्या भएकाे स्थानीयवासी बताउँछन् । 

केआइसिं गाउँपालिकाका स्थानीयवासी बासुदेव जोशीले भन्नुभयो, 'गाउँमा प्रशस्त साग तरकारी फलेको छ, बजारसम्म लैजान सडक छैन, किसानले उत्पादन गरेका तरकारी, फलफूल बारीमै कुहिएका छन् ।'

जिल्लामा जताततै सडक खन्ने होडबाजी हुने तर वर्षात हुँदा ती सडक बिग्रिने र मर्मत नगरिँदा नागरिक समस्यामा पर्ने गरेका छन् । 

वर्षाले जीर्ण भएका सडक समयमै मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ। सडक मर्मत तथा सञ्चालनकाे जिम्मा पाएका स्थानीय तह तथा सडक डिभिजन कार्यालयले मर्मतका लागि चासो नदिँदा समस्या भएको स्थानीयवासीको गुनासाे छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया