क्यासिनोले बुझाए ८१ करोड रुपैयाँ रोयल्टी

 फागुन ९, २०७८ सोमबार १६:५५:४४ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । हिजाे आइतवारसम्म सरकारको खातामा क्यासिनो कम्पनीहरूबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन् । अरू केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरू रकम पनि आउँछ ।’

मन्त्री आलेले केही हप्ताअघि क्यासिनोको रोयल्टी नतिर्नेहरूको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता रकम बुझाएका छन् भने गोल्डेन फिङ्गर गेमिङ जोन प्रालीले नयाँ क्यासिनो सञ्चालन गरेबापत दुई करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएसँगै सरकारको खातामा ८१ करोड रुपैयाँ जम्मा भएको हो ।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरूले तिर्नुपर्ने बक्याैता रकम एक अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँ छ । यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षाैँसम्म पनि नतिर्ने काठमाण्डाैकाे दरबारमार्गमा रहेको होटेल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीन पुस्ते विवरणसमेत सार्वजनिक गरेको छ ।अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । 

यसमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुई वटा होटलमा गरेर १४ करोड रुपैयाँ बाँकी रहेको र त्यो होटलको बैंक जमानत रहेकाले असुल गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिनुभयो । यसैगरी सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एण्ड यती (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्स समेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया