ओलीकाे दाबी : पालिका चुनावपछि देशमा विकासको लहर आउँछ

 बैशाख ४, २०७९ आइतबार १९:३०:२२ | रासस
unn.prixa.net

हुम्ला – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि देशमा विकासको लहर आउने दाबी गर्नुभएकाे छ । एमाले हुम्लाले आज आइतवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे । 

अध्यक्ष ओलीले नागरिकको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको पनि बताउनुभयाे । आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीव्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि फेरि फड्को मार्ने दाबी गर्नुभयो । 

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताउनुभयाे । उहाँले करिडोर निर्माणलाई तीव्र गतिमा अगाडि बढाएर हुम्लाका नागरिकलाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सीमा नाका खुला नहुँदा यहाँका नागरिकले पीडा भोग्नुपरेको बताउँदै उहाँले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित अन्य पालिकाका धेरैजसो वडामा टेलिफोनले राम्रोसँग काम नगरेको आफूले सुनेको बताउनुभयो । 

कर्णाली करिडोर हिल्सासम्म जोड्नका लागि आफूले कुरा अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष ओलीले दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा उपचार गर्न समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले अन्तरजिल्ला जोड्ने निजी एअरलाइन्सले दैनिक एक उडान गर्न आवश्यक छ भन्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्राथमिकता दिनुपर्छ । भूगोलअनुसारको विकास पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ ।’ ज्येष्ठ नागरिकको जीवन बीमा एमाले सरकारमा हुँदा लागू भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एकल महिला, ज्येष्ठ नागरिक, वृद्धवृद्धा र अपाङ्गताको दुःख हेर्ने जनताको पार्टी एमाले नै हो ।’

अध्यक्ष ओलीले उत्तरी नाम्खा गाउँपालिका ६ लिमीका तीन जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइदिने बताउनुभयो । उहाँले तिल, जाङ, र हल्जीका गाउँमा रहेका तीन वटै विद्यालयका तीन जना बालबालिकालाई निःशुल्क पठनपाठन गराइ दिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया