मौरीमा रोग किराको प्रकोपले उत्पादन घटेपछि म्याग्दीका किसान चिन्तित

 असार १०, २०७९ शुक्रबार १३:५३:२८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा यसवर्ष विगतको तुलनामा भन्दा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो ।

म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका २ हजार ५ सयवटा मौरीका आधुनिक घारहरुबाट सो परिमाणको मह उत्पादन भएको हो । विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने महको उत्पादन घट्दै जान थालेको छ । पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसानहरु भने चिन्तित बनेका छन् ।

म्याग्दीको मौरीपालन व्यवसायमा थाईस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो । रोग, किराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरुले गुनासो गरेका छन् । एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोग, किराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो ।

म्याग्दी जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रुपमा पाल्ने गरिएको छ । अहिले जिल्लाभर ३ सयभन्दा बढी किसानहरु मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रुपमा जम्मा २० जना मात्रै किसानहरु क्रियाशील रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । मौरीपालनमा किसानहरु धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा किराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ ।

मौरी र मह उत्पादनका लागि मौसम प्रतिकूल हुनु, रोग, किराको प्रकोप फैलनु, पर्याप्त फूलहरु समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका मौरीपालक किसान मिनबहादुर खत्रीले जलवायु परिवर्तन र मौरीसँगै रोग भित्रिएकाले मह उत्पादन घटेको अनुभव सुनाउनुभयो । यस्तै किसानहरुले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो । म्याग्दीको बेनी नगरपालिकाको सुर्केमेला, सिङ्गा, डम्बरा, डडुवा, मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगंगाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र र पालिका तहबाट किसानहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बिउँ पुँजीलगायत सहयोग हुँदै आएको छ । राम्रोसँग मौरीपालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झण्डै ८ केजीसम्म मह उत्पादन हुन सक्ने किसानहरुसँग अनुभव छ । अहिले प्रतिकेजी महलाई एकहजार छ सय रुपैयाँ मूल्य पर्दछ । म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराइन जस्ता देशहरुमा प्रवासी नेपालीहरुले पुर्‍याउने गरेका छन् ।

किसानहरुले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिक रुपमा मनग्य आम्दानी गर्दछन् । म्याग्दीका किसानहरुले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन्भने महलाई औषधि र पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग गरिन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया