‘टाइगर अभी जिंदा है’ : प्रेम आले

 असार १२, २०७९ आइतबार १९:५९:२९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई टाइगर अर्थात् बाघको संज्ञा दिनुभएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएर आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिने क्रममा आफूले बाघजस्तै भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले नौ महिनामा धेरै राम्रा काम गरेको छु, टाइगर अभी तक जिंदा है ।’ 

कार्यक्रममा बोल्दै मन्त्री आलेले आफूले गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु, बाँकी अधुरा रहेका काम अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’ 

विमानस्थलहरूको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामबारे मन्त्री आलेले पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो । उहाँले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकिनँ, ती अधुरा काम अन्य दिनमा हुने छन् ।’ 

मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै राम्रा तथा जुगौँ जुग स्मरण गर्ने खालका काम भएको दाबीसमेत गर्नुभयो । 

यस वर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रमलाई चिर्न मोदीले बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र त्यो कार्यक्रमलाई आफूले अध्यक्षता गरेको विषयलाई पनि उहाँले आफ्नो सफलता भएको जानकारी दिनुभयो । 

यसैगरी मन्त्री आलेले लुम्बिनीलाई प्राकृतिक वनको रूपमा संरक्षण गर्न बुद्धकालीन प्रजातिका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो । पशुपति क्षेत्रमा विश्वरूपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्तामा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रङ्गरोगन, सरसफाइ गरिएको विषयलाई पनि महत्त्वका साथ उठाउनुभयो । नेपालबाट हराएका ८६ वटा मूर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको समेत मन्त्री आलेले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया