गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण

 असार २७, २०७९ सोमबार १७:१९:२३ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण गरिएको छ । यस सडक अन्तर्गत लापूको हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक सेनाले विभागलाई हस्तान्तरण गरेको हो । 

आज साेमवार आयोजित कार्यक्रममा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले सडक विभाग अन्तर्गतको स्थानीय कार्यालय ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो । सडकसम्बन्धी आयोजना प्रतिवेदनमा हस्ताक्षर गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको भट्टले जानकारी दिनुभयो । 

बेनीघाटबाट आरुघाट हुँदै लार्के भञ्ज्याङसम्मको सडक निर्माणको काम सुरुमा सडक विभाग अन्तर्गत नै भइरहे पनि लापूको हावाडाँडाको भिरमा पुगेर रोकिएको थियो । त्यसपछि कडा चट्टानसहितको भिर फुटाएर ट्र्याक बनाउने जिम्मा नेपाली सेनालाई दिइएको हो । सेनाले २०७४ वैशाख ११ गतेदेखि औपचारिक रूपमा ट्रयाक निर्माणको काम सुरु गरेको हो । अहिले सिर्दिवाससम्म ३२ दशमलव ५ किलोमिटर ट्रयाक निर्माण सकिएको छ । तर ठाउँठाउँमा ट्रयाक जोड्ने र सडकको चौडाइ आठ मिटर बनाउने काम बाँकी रहेको मेजर भट्टको भनाइ छ । ट्रयाक निर्माण पूरा भएको सडक खण्ड क्रमशः विभागलाई हस्तान्तरण गर्दै जाने उहाँले जानकारी दिनुभयो ।

अहिले हस्तान्तरण गरिएको १८ किलोमिटर खण्डको मर्मत लगायतको काम अब सडक विभागमार्फत हुनेछ । यस खण्ड अन्तर्गत खोर्लाखोला, न्याउली खोला, खानीखोला लगायतका ठाउँमा सडक, पुल निर्माण गर्न बाँकी छ । माछाखोलामा भने नेपाली सेनाले नै बेलीब्रिज निर्माण गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाटबाट बूढीगण्डकी नदीको किनारै किनार निर्माण भएको सडकको लार्केभञ्ज्याङसम्मको लम्बाइ एक सय ५४ किलोमिटर रहेको छ । त्यसमध्ये हावाडाँडाबाट लार्केभञ्ज्याङसम्मको ९२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको हो । चीनको सीमासम्म सडक सञ्जाल पुर्‍याउन अब झन्डै ६० किलोमिटर ट्रयाक निर्माण बाँकी रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया