पहिरोका कारण नवलपुरको पहाडी क्षेत्रको सडक खण्ड अवरुद्ध

 साउन १६, २०७९ सोमबार १३:७:१४ | दयाराम आचार्य
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी - पहिरोका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको सडक खण्ड अवरुद्ध भएको छ ।

नवलपुरको दलदले–कुमसोत–पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने सडक पहिरोले अवरुद्ध पारेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । 

कुमसोत–पोखरी खण्ड अन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्ग्रेमा पहिरो खसेका कारण बाटो पूर्णरुपमा अवरुद्ध भएको पाठकले बताउनुभयो । पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएकाले तत्काल यो सडक खण्ड सञ्चालन हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । 

जिल्लाको पहाडी क्षेत्र अन्तर्गत पर्ने बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक पहिराेले अवरुद्ध पारेपछि दुई गाउँपालिकाको सदरमुकामसँगको सडक सम्पर्क टुटेको छ।

पहाडी गाउँपालिका जोड्ने यो सडक खण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात  अवरुद्ध हुने गरेकाे छ। पाङ्ग्रेसहित पोखरी–डेढगाउँ र पोखरी–बुलिङखण्डमा समेत यातायात सञ्चालनमा कठिनाइ भएकाे छ । अन्य ठाउँमा पनि स-साना पहिरो झरेका छन्। 

पहिराेका कारण कालीगण्डकी करिडोर समेत अवरुद्ध भएको छ । गैँडाकोटबाट बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरका विभिन्न ठाउँमा पहिरो गएकाे छ । साथै यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको पाठकले बताउनुभयो ।  दुवैतर्फका सडक तत्काल पूर्णरुपमा सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । 

पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि यस क्षेत्रका बासिन्दालाई सदरमुकाम आउनु परे तनहुँको भिमान –  खैरेनीटार – मुग्लिन – नारायणगढ हुँदै कावासोती पुग्नुपर्ने बाध्यता छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा पहिराे जाँदा एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेको छ । पहिरो पन्छाउने काम चलिरहेको र राजमार्ग पूर्णरुपमा सञ्चालन हुन समय लाग्ने प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया