सामाजिक सुरक्षा भत्ता बुझ्न जानेलाई गाडीकाे सुविधा

 भदौ ७, २०७९ मंगलबार १३:३९:४९ | नेत्र शाही
unn.prixa.net

गाडी चढेर सामाजिक सुरक्षा भत्ता लिन जाँदै जुम्लाकाे हिमा गाउँपालिका १ मा सेवाग्राही, : तस्बिर वडा कार्यालय

जुम्ला – जुम्लाको हिमा गाउँपालिका १ ले सामाजिक सुरक्षा भत्ता बुझ्न जाने सेवाग्राहीलाई गाडीकाे सुविधा दिन थालेको छ । वडा नम्बर १ का धेरैलाई बैंकमा आउन झन्डै एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान गाडीकाे सुविधासहित सामाजिक सुरक्षा भत्ता बुझ्न र घर आउन सहज हुने भएको छ । 

वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षा भत्ताका लागि गाडीकाे व्यवस्थापन गरी सेवा दिइएको छ । वडा अध्यक्ष शाहीका अनुसार बालबालिका दुई सय ६१ जना, ज्येष्ठ नागरिक एक सय ७३ जना, एकल महिला १८ जना र अपाङ्गता भएका व्यक्ति चार जनालाई गाडी रिजर्भ गरेर सेवा दिइएकाे छ ।

भौगोलिक रूपमा गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले गाडी चढाएर बैंक पुर्‍याएपछि ज्येष्ठ नागरिकसहितका सेवाग्राही खुसी भएका छन् । हिँडेर जान नसकिने, साधन पनि पाउन कठिन हुने समयमा वडाले राम्रो काम गरेको उनीहरूले बताएका छन् । ८३ वर्षीय धनबहादुर रोकायाले यसअघि सामाजिक सुरक्षा भत्ता लिन जाँदा कठिन भएकाे तर याे पटक वडाले गाडीकाे व्यवस्था गरेकाेले सजिलो भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Sagar Lama

    Aug. 23, 2022, 3:08 p.m.

    गाडि चडाएर तेत्रो मानिसलाई बैङ्क सम्म पुर्याउनु भन्दा २-४ जना व्यक्तिहरूलाई गर गरसम्म सामाजिक सुरक्षा भत्ता पठाए भइहाल्यो नि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया