१० वर्षमा नेपाललाई विकासको गतिमा अघि बढाउन सम्भव छ : प्रचण्ड

 भदौ २६, २०७९ आइतबार १७:११:५९ | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ । 

बाग्मती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आइतवार काठमाण्डौमा भएको युवा उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गर्नुभयो ।   

अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा लाग्दै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भन्नुभयो, ‘अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो । उद्योगमैत्री ऐन कानुन बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।’

अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा देशलाई विकासको गतिमा अघि बढाउन सम्भव छ भन्नुभयो । त्यसका लागि युवाको जागरुकता आवश्यक भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘हाम्रो भरोसा तपाईँ युवा नै हो, तपाईँहरू भविष्य होइन वर्तमान हो । अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिक रूपले गतिशील बनाउन सक्नुहुन्छ ।’ 

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उहाँले बताउनुभयो । उहाँले प्राकृतिक स्रोत–साधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताउनुभयो । 

भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले त्यो अवसर र सम्भावना नगुमाउन अध्यक्ष दाहालले युवालाई आह्वान गर्नुभयो । उहाँले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्त्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याउनुभयो । 

उहाँले विगतमा खाद्यान्न निर्यात गर्ने हाम्रो देश अहिले आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो भन्नुभयो । उहाँले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दिगो र दीर्घकालीन हुने बताउनुभयो । 

दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्त्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो ।  

उहाँले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गर्नुभयो । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिनुभयो । ‘काम ढिलो होस् तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न’, उहाँले युवालाई सुझावात्मकरूपमा भन्नुभयो । अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुई पटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाउनुभयो । 

उहाँले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न तथा समावेशी संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाउनुभयो । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भोजराज पौड्याल

    Sept. 11, 2022, 6:04 p.m.

    वाहियात नेताको नेपालिलाई झुक्याउने योजना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया