विकास गाउँतिर, गाउँले सहरतिर

 असोज ३१, २०७९ सोमबार १३:२:१४ | रासस
unn.prixa.net

म्याग्दी – हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिकाका सबै वडासम्म सडक सञ्जाल पुगेको हो । 

सडक सञ्जालको पहुँच पुगेसँगै पालिकाले विकासमा तीव्रता दिइरहेका छन् । सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना बस्ती योजना, सिँचाइ, खानेपानी, ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य जाँच, उपचारलगायत, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पनि नयाँ–नयाँ रणनीतिक योजनासमेत पालिकाले ल्याएका छन् ।

केही वर्षअघिसम्म टुकी वा दियालोका भरमा साँझ र रात बिताउन बाध्य गाउँलेका घरमा अहिले बिजुली बत्ती झिलीमिली हुन्छ । गाउँ–गाउँका स्वास्थ्य चौकीको स्तरवृद्धि भएको छ । हरेक पालिकामा अनुभवी स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न भवनमा प्रसूतिसहितको सेवा पुगेको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् । 

विकासका हरेक नमुनाको अभ्यास गर्न यस जिल्लाका पालिका प्रतिस्पर्धात्मक तरिकाले लागिपरेको भए पनि गाउँलेहरूमा भने थातथलो छोड्ने क्रम घटनाको साटो  झन् बढेर गएको छ  । जनसाङ्ख्यिक हिसाबले पनि २०५८ को जनगणना र त्यसयताका दुई दशकमा भएका जनगणनाका तथ्याङ्कले समेत म्याग्दीको जनसङ्ख्या क्रमशः घट्दो क्रममा रहेको देखाइएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजाअनुसार विसं २०६८ को तुलनामा शून्य दशमलव ५४ प्रतिशतले जिल्लाको जनसङ्ख्या घटेको हो । विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक जनगणनामा एक लाख सात हजार तीन सय ७२ जना भएको जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो । एक दशकमा जिल्लाबाट छ हजार दुई  सय ६९ व्यक्ति घटेका छन् ।

स्थानीय जनप्रतिनिधिले पालिका वडामार्फत बस्तीका बासिन्दालाई स्थानीयस्तरबाट हुनुपर्ने सेवा–सुविधा दिन र दैलोको सरकारले बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा पूरा गरेको जिकिर गरिरहँदा बढ्दो बसाइँसराइले भने ती उनीहरूको भनाइ प्रभावकारी देखिँदैन । 

जिल्लाका सबै गाउँपालिकाका केन्द्रसम्म सबै प्रकारका सुविधा पुगेका छन् । पालिका सरकार सञ्चालन भएको पाँच वर्षमा जिल्लाका सबैजसो पालिकाका केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नति भएका छन् । पालिकाको केन्द्रदेखि वडाका बस्ती जोड्ने सडक निर्माण भएका छन् । अरू शाखा सडकको पनि स्तरवृद्धि तथा सडक चौडा पार्ने काम तीव्ररूपमा अघि बढेको छ । कतिपय पालिकाले त मुख्य–मुख्य तथा आसपासमा बस्ती नभएका माध्यमिक विद्यालयका लागि स्कुल बसको व्यवस्थासमेत गरेका छन् । 

ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गर्दै आइरहेका छन् । हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटिएकोसमेत दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ ।

ग्रामीण बस्तीमा पूर्वाधार विकासले जतिसुकै फड्को मारे पनि ग्रामीण क्षेत्रका बासिन्दाको बसाइँसराइ भने रोकिएको छैन । पालिकाका पञ्जीकरण शाखाले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैजसो पालिकामा हरेक वर्ष बसाइँ सर्ने बढ्दै गएको पाइएको छ । जिल्लाको मालिका गाउँपालिकाले गएको वर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै ९७ परिवारका एक सय ९३ जनाले बसाइँसराइ गरेको पाइएको थियो । 

त्यस्तै बेनी नगरपालिकाका विभिन्न वडाबाट अघिल्लो वर्षमात्रै झन्डै एक सय परिवारले बसाइँसराइको सिफारिस लिएका थिए । अन्नपूर्ण, धवलागिरि, मङ्गला र रघुगङ्गा गाउँपालिकाको हालत पनि उस्तै छ । गएको वर्ष मङ्गला र रघुगङ्गाका विभिन्न वडाबाट मात्रै झन्डै दुई सय परिवारले बसाइँसराइ गरेको तथ्याङ्क छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्याङ्क पनि बर्सेनि बढ्दो छ ।

बसाइँसराइ गर्नेमा धेरैजसो परिवार तराईका जिल्ला र केही सुविधा सम्पन्न सहर–बजारमा गएको पालिकाले जनाएका छन् । जिल्लाका सबैजसोले बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्याङ्क निकालिएको पञ्जीकरण शाखाले जनायो । ‘सुविधाको खोजीमा मानिस गाउँ छोडेर सहर र तराईतिर झर्ने गरेका छन्’, रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले भन्नुभयो, ‘गाउँमा विकास पुगे पनि हरेक मानिसले त्यहाँभन्दा बढी अपेक्षा गरेर अन्यत्र जाने गरेका छन्, बसाइँसराइको सिफारिस लिन आएकालाई गाउँ छोडेर नजाउ भन्न मिलेन ।’ 

बसाइँसराइको सिफारिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । धेरैजसो वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँसराइका कारण खुलाइएको छ ।

स्थानीय जनप्रतिनिधिले विकासकै अभावले कसैलाई बसाइँसराइ गर्नुपर्ने अवस्था नरहेको बताए पनि बसाइँसराइ गरेकाहरू भने सुविधाकै खोजीमा आफूहरू गाउँ छोड्न बाध्य भएको जनाउने गरेका छन् । बेनी नगरपालिका वडा नं २ बाट बसाइँसराइ गरी नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरमा जानुभएकी अम्बिका शर्माले गाउँमा बसेर निर्वाहमुखी खेतीबाहेक अरू केही नहुने हुँदा अर्थोपार्जन र छोराछोरीको शिक्षादीक्षाका लागि बसाइँसराइ गरेको बताउनुभयो ।

तस्बिर : प्रताप बानियाँ

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया