मंसिर ४ पछि जनकपुर रेलकाे गतिमा विकास हुन्छ : अध्यक्ष ओली

 कात्तिक ४, २०७९ शुक्रबार १८:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे मङ्सिर ४ गतेपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उहाँले मङ्सिर ४ गते बस्ने जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताउनुभएको हो । 

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताकाे फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले गति पाउने आश्वासन दिँदै त्यसका लागि गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब मङ्सिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ । राजमार्गकाे गाडीभन्दा छिटो विकासका गति अगाडि बढ्छ । देशको विकासको गति अगाडि बढ्छ । यो सन्देश तपाईँहरूले गाउँ–गाउँमा लिएर जानुहोस् । गाउँ–गाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसिर ४ गते गर्दैछ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार काम गर्न नभइ अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने टिप्पणी गर्नुभयाे । 

कार्यक्रममा बाेल्दै उहाँले चुनावको बेला जनतालाई अलमल्याउने काम सत्तारूढ दलहरूले गरिरहेको आरोपसमेत लगाउनुभयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले आफूहरूले निर्वाचन आचारसंहिता विपरीत 'फ्री भिसा र फ्री टिकट' को कुरा नगरेको बताउनुभयो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरू पार्टीले २० वर्षमा गर्न नसकेको काम तीन वर्षमै गरेर देखाएको दाबी गर्नुभयाे । सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया