दाङ २ मा पोखरेल र शर्माबीच कडा टक्कर

 कात्तिक २३, २०७९ बुधबार १४:३:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङको क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीच मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । पोखरेल लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री हुनुहुन्छ भने शर्मा पूर्व सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । यो क्षेत्रमा पोखरेल र शर्माबीच प्रतिस्पर्धा  हुँदैछ । दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा घर भएका पोखरेल यसअघिको चुनावमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरालाई प्रतिनिधि सभा छोडेर प्रदेश सभामा दाङ–२ (क) बाट चुनाव लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुनु भएको थियो ।

कुन कुन पालिका पर्छन त यो क्षेत्रमा ?

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका सबै वडा र तुलसीपुर उपमहानगरका १६, १७, १८ र १९ नम्बर वडा पनि यही क्षेत्रमा पर्छन् । यो क्षेत्रमा पर्ने तीन पालिकाका वडाध्यक्षको मत गन्ने हो भने गएकाे वैशाखमा भएको पालिका चुनावको मत परिणामअनुसार सत्ता गठबन्धन अगाडि छ ।

बदर मत जोगाए प्रतिस्पर्धा अझ रोचक हुने ?

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव पालिका चुनावभन्दा भिन्न भएता पनि गएकोे पालिका चुनावको मत परिणामलाई पूर्ण रुपमा अस्वीकार गर्न भने सकिँदैन ।

वैशाखमा भएको पालिका चुनावमा घोराही उपमहानगरमा नेकपा (एमाले)का नरुलाल चौधरी ३१ हजार ७ सय २८ मतका साथ नगर प्रमुखमा विजयी हुनु भएको थियो भने कांग्रेस र माओवादीको गठबन्धनका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ले २६ हजार ३ सय ६८ मत ल्याउनु भएको थियो । नरुलाल चौधरी र हेमराज शर्माको मतान्तर ५ हजार ३ सय ६० थियो ।

मेयर पदका अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरिता देवकोटाले ५ हजार ३ सय २४ भोट ल्याउनु भएको थियो । गठबन्धनमा कुरा नमिल्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पनि छुट्टै उम्मेदवार उठाएको थियो । एकीकृत समाजवादीबाट राम प्रसाद चौधरीले एक हजार १ सय ४३ मत ल्याउनु भएको थियो । घोराही उपमहानगरपालिकामा १० हजार ७ सय ३० मत भने बदर भएको थियो । मतदाता शिक्षाको अभाव एवम् तल माथि गरेर धेरै भोट हाल्नु पर्ने झन्झटिलो प्रक्रियाले गर्दा  बदर भएको धेरैजसो मत आफ्नो रहेको गठबन्धनको दाबी छ ।

गठबन्धनको मतमा बदर मत थप्ने हो भने गठबन्धन यहाँ ५ हजार मतले अगाडि हुन आउँछ । जसको प्रत्यक्ष फाइदा यहाँ रेखा शर्मालाई हुनसक्छ किनकि यसपालीको मतपत्रमा गठबन्धनबाट जुन दलले टिकट पाएको हो उसको मात्र चुनाव चिन्ह रहने गरी मतपत्र छापिएका छन् । अर्थात् माओवादीले टिकट पाएको क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह हुने छैन भने कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीको चुनाव चिन्ह हुने छैन ।

सरसर्ती गणना गर्दा गठबन्धन अघि

दाङ निर्वाचन क्षेत्र नं २ मा  पर्ने तीन पालिकाका वडाध्यक्षको मत गन्ने हो भने गएको वैशाखमा भएको पालिका चुनावको परिणामअनुसार सत्ता गठबन्धन अगाडि छ ।

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको मत जोड्दा कुल ३६ हजार एक सय ४६ छ । नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूको भने ३३ हजार ५ सय ९३ मत छ । पालिका चुनावमा गठबन्धनसँग एक्लै प्रतिस्पर्धामा उत्रिए पनि घोराहीको मेयर र उपमेयरसहित धेरैजसो वडामा एमालेका उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

को हुन त रेखा ?

माओवादी नेतृ रेखा शर्मा समानुपातिक सांसद हुँदै सामान्य प्रशासनमन्त्री हुनु भएको थियो । २०६४ र २०७४ को चुनावमा समानुपातिक सांसद बन्नु भएकी शर्मा  प्रत्यक्ष चुनाव लड्न लागेको यो पहिलो पटक हो । उहाँ मन्त्री हुँदा र राजनीतिक रूपमा पनि कुनै पनि विवादमा मुछिनु भएको छैन । त्यसको लाभ शर्माले उठाउन सक्ने देखिन्छ । यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्र पनि हो त्यसैले यसले शर्मालाई थप फाइदा हुन सक्छ ।

रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा धेरैजसो मानिस रोल्पाबाट बसाइँ सरेर आएका छन् । आस्थाका दृष्टिकोणले रोल्पालीहरू धेरैजसो माओवादी निकट छन् । त्यसको लाभ रेखालाई हुनेछ ।

पोखरेल पुराना खेलाडी

एमाले उमेदवार शंकर पोखरेल २०५१ सालमा पहिलो पटक दाङ २ बाट चुनाव जितेर प्रतिनिधि सभा सदस्य हुनु भएको थियो । त्यसपछि अहिलेसम्म उहाँले प्रतिनिधि सभा चुनाव जित्नु भएको छैन । २०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर २ बाट शंकर पोखरेललाई हराउँदै कांग्रेसका कृष्णकिशोर घिमिरे निर्वाचित हुनु भएको थियो । २०६४ सालमा भएको संविधान सभा चुनावमा त माओवादीले सबै क्षेत्रमा जित हासिल गरेको थियो । २०७० सालमा भएको दोस्रो संविधान सभा चुनावमा पनि पोखरेल पराजित हुनु भएको थियो । त्यस बेला यस क्षेत्रमा नेपाली कांग्रेसका बुद्धिराम भण्डारी विजयी हुनु भएको थियो ।

यस्तो पनि आँकलन गरिन्छ

यस क्षेत्रमा यसरी हेर्दा सत्तागठबन्धन अगाडि देखिए पनि पालिका चुनावमा आएको मत विश्लेषण अपूर्ण हुने देखिन्छ किनकि घोराही उपमहानगरपालिकाको क्षेत्र र  प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर २ को भूगोल भने करिब ४० प्रतिशत फरक छ । पालिका चुनावमा घोराही उपमहानगरपालिकामा पर्ने चार वटा वडाहरु केन्द्रको चुनावमा भने यस क्षेत्रमा नभएर देउखुरी क्षेत्र नम्बर १ मा पर्छन् भने तुलसीपुर उपमहानगरका चार वटा वडा यस क्षेत्रमा आएर गाभिन्छन् । साथै सिंगो बंगलाचुली गाउँपालिका पनि यस क्षेत्रमा गाभिन आउँछ ।

पालिका चुनावमा एमालेका पकड भएका वडाका रुपमा रहेका वडा नम्बर १ र २ का मतदाताले मंसिर ४ मा दाङ २ बाट मत हाल्न पाउने छैनन् । किनकि यी वडा यो निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा गाभिएका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिकामा पर्ने तर यस निर्वाचन क्षेत्रमा नपर्ने वडाहरु हुन वडा नम्बर १, २, ३ र ५ । यी चारै वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । नेकपा एमालेको गढ मानिने यी वडाहरु यस क्षेत्रमा नपर्नुको प्रत्यक्ष घाटा एमालेका उम्मेदवार शंकर पोखरेललाई पर्ने देखिन्छ ।

यो क्षेत्रमा नेकपा एमाले गठबन्धन भन्दा करिब चार हजार ५ सय भोटले अगाडि थियो । पालिका चुनावमा नेकपा एमालेको लागि हर्षको विषय बनेका वडा नम्बर १, २, ३, र ५ अब यस निर्वाचनमा शंकर पोखरेलको लागि चिन्ताको विषय बन्न सक्छ । यद्यपि पछिल्लो समय बंगलाचुलीमा एमालेले पार्टी प्रवेश र संगठन विस्तार अभियानलाई व्यापक बनाएकोले त्यसको असर आउँदो निर्वाचनमा कस्तो देखिने हो यो विषय भने रोचक छ ।

थारु समुदायको मत पोखरेललाई जाला ?

यसका साथसाथै घोराही २ मा अर्को चर्चाको विषय हो यहाँको थारु समुदायको मत । पालिका चुनावमा मेयर पदमा नरुलाल चौधरीलाई यहाँ रहेको करिब ३० प्रतिशत थारु समुदायको मतमध्ये धेरै मत गएको थियो । पालिका चुनावमा गठबन्धनबाट कुनै चौधरी उम्मेदवार नहुँदा चौधरी समुदायको धेरैजसो भोट नरुलाल चौधरीलाई आएको देखिन्छ तर यो चुनावमा चौधरी समुदायको भोट नरुलाल चौधरीलाई जसरी शंकर पोखरेललाई नै आउला त ?  एमालेका लागि यो चिन्ताको विषय हो ।

तुलसीपुरको मतले गठबन्धनलाई फाइदा

जसरी घोराहीका चार वटा वडा बाहिरिँदा त्यसको प्रत्यक्ष घाटा एमालेलाई पर्न सक्छ त्यसको ठीक विपरीत यस निर्वाचन क्षेत्रमा गाभिन आउने तुलसीपुर उपमहानगरपालिकाका चार वडाहरुले गठबन्धनलाई फाइदा पुर्याउन सक्छ ।

तुलसीपुरबाट यो क्षेत्रमा गाभिन आउने वडाहरु  हुन् वडा नम्बर १६, १७, १८ र १९ । यी चार वडामध्ये दुई वटा वडामा नेकपा एमाले एउटामा नेपाली कांग्रेस र एउटामा माओवादीको उम्मेदवार विजयी भएका थिए । यसमा पनि वडा नम्बर १६ मा गठबन्धनमा कुरा नमिले पछि एकल प्रतिस्पर्धा गर्दा माओवादीका उम्मेदवार विजयी भएका थिए । यसको अर्थ यो हो कि अहिले यस वडामा रहेको कांग्रेसको मत र एकीकृत समाजवादीको मत पनि गठबन्धनमा थपिने हुँदा समग्रमा यी चार वडामा गठबन्धन करिब दुई हजार मतले अगाडि देखिन्छ । यहाँसम्मको तथ्याङ्क हेर्दा यस क्षेत्रमा गठबन्धनको समग्र मत नेकपा एमालेको भन्दा करिब ११ हजार बढी हुन आउने देखिन्छ ।

बंगलाचुलीको मत नै निर्णायक

अहिलेको चुनावमा उथलपुथल ल्याउने अर्को पक्ष हो बंगलाचुली गाउँपालिका । बंगलाचुली गाउँपालिका पनि यही निर्वाचन क्षेत्रमा पर्न आउँछ । भर्खरै भएको पालिका चुनावमा बंगलाचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका तुल्सिराम पुन (सुबास) पाँच हजार ७ सय ४९ मतका साथ विजयी हुनु भएको थियो । नेकपा एमालेका भेषराज खत्री तीन हजार ६ सय ७८ मत ल्याएर पराजित हुनु भएको थियो । यहाँ गठबन्धनको भोट एमाले भन्दा दुई हजार ७१ बढी देखिन्छ । त्यसका साथै यहाँ एक हजार २ सय २४ मत बदर भएको थियो । जसको ठूलो हिस्सा फेरि गठबन्धनको मतमा परिणत हुन सक्छ । त्यसमा पनि यस पालिकाका ४ वटा वडामा मात्र गठबन्धन भएको थियो र चार वडामा एकल प्रतिस्पर्धा भएको थियो । गठबन्धन भएका चारै वटा वडा गठबन्धनले नै जितेको थियो । भने बाँकी ४ वडामा दुई वटा माओवादी एवम् दुई वटा कांग्रेसले एकल प्रतिस्पर्धा गरेर जितेका थिए । यसरी हेर्दा यहाँ अहिले गठबन्धनको मत झनै बढ्न सक्छ । यो गाउँपालिका माओवादीको गढ मानिन्छ भने यहाँ काग्रेसको मत पनि एमालेकोभन्दा अत्यधिक बढी देखिन्छ ।

पोखरेलको व्यक्तित्वले गठबन्धनलाई अप्ठयारो 

पोखरेल एमालेका वैचारिक नेता मानिनु हुन्छ । नीति र सिद्धान्तको राम्रो ज्ञाताको रुपमा उहाँलाई पार्टीमा लिइन्छ । उहाँलाई एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्रका रुपमा पनि पार्टीभित्रै चित्रण गरिन्छ । नेपाली कांग्रेससहित गठबन्धनको समर्थनमा उमेदवार बन्नु भएकी माओवादीकी नेता शर्मा पार्टीभित्र उदयमान, प्रतिभाशाली नेता मानिनुहुन्छ । कानून बनाउनका लागि हुने संसदीय छलफलमा सक्रीय थोरै सांसदमध्ये शर्माको नाम अगाडि आउँछ । माओवादीमा उदीयमान शर्मा र शक्तिशाली पोखरेलबीचको प्रतिस्पर्धालाई जिल्लावासीले रोचक मानेर मंसिर ४ को प्रतिक्षामा छन् । सत्ता गठबन्धन र एमालेले पालिका चुनावमा ल्याएको मत परिणामले पनि यी दुवैबीच कडा टक्कर हुने देखाउँछ ।

यसरी हेर्दा एमाले महासचिव शंकर पोखरेल हेभीवेट मानिनुहुन्छ । पोखरेलको तुलनामा राष्ट्रिय राजनीतिमा शर्मा अलि कम चर्चाको ब्यक्तित्व हुनुहुन्छ । शंकर पोखरेलको व्यक्तित्वले यो मतान्तर घटाउनै सक्दैन भनेर यसै भन्न सकिने अवस्था भने छैन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भइसकेका र हाल एमालेको महासचिवसमेत रहेको हुनाले पोखरेलेको हेभीवेट व्यक्तित्वले आउँदो चुनावमा गठबन्धनलाई अप्ठयारो पार्न सक्ने सम्भावना पनि उत्तिकै छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया