दाङ–१ मा थारु नेताबीच प्रतिस्पर्धा

 कात्तिक २३, २०७९ बुधबार २०:२८:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रतिनिधि सभाको ३ वटा र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसमध्ये प्रतिनिधि सभामा ११ र प्रदेश सभातर्फ १२ गरी २३ जना थारु समुदायका उम्मेदवार छन् । रमाइलो त के छ भने दाङको १ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि थारु नेताबीच मात्रै प्रतिस्पर्धा छ ।

थारु बाहुल्य दाङको क्षेत्र नम्बर १ मा ५ जना प्रतिनिधि सभा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरी, एमालेबाट सचेतक बनिसकेकी शान्ता चौधरी, एमालेबाट टिकट नपाएपछि हाम्रो नेपाली पार्टीकी उम्मेदवार गंगा चौधरी, संघीय लोकतान्त्रिक मञ्च थरूहटबाट रुक्मिणी चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट डाक्टर सुरेन्द्र चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा प्रतिनिधि सभाका लागि जस्ले जिते पनि थारु समुदायको उम्मेदवारले नै जित हासिल गर्ने छन् ।

त्यस्तै क्षेत्र नम्बर १ प्रदेश सभातर्फ पनि ५ जना थारू उम्मेदवार छन् । गठबन्धनबाट माओवादी केन्द्रका लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जित चौधरी प्रदेश सभा सदस्यका लागि दाङ १ (क) मा उम्मेदवार बनेका छन् ।

दाङ १ (ख) मा नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरी, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट टीकलाल चौधरी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा २ र प्रदेश सभामा ३ जना गरी ५ जना थारु समुदायका उम्मेदवार चुनावी मैदानमा छन् । दाङ क्षेत्र नम्बर ३ मा ७ जना थारू उम्मेदवार छन् । यीमध्ये ३ जना प्रतिनिधि सभातर्फका छन् भने ४ जना प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् ।

दाङ क्षेत्र नम्बर ३ (क)मा गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री डिल्ली बहादुर चौधरीको उम्मेदवारी रहेको छ । थारु समुदायको यो उम्मेदवारीलाई पहिचानको नारा बोकेको तत्कालीन थरूहट आन्दोलनको प्रभावका रूपमा पनि लिइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको कुल जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ मध्ये थारु समुदायको जनसंख्या १ लाख ६३ हजार १ सय १६ अर्थात् २९ दशमलव ५२ प्रतिशत छ ।

गएको वैशाखमा भएको पालिका चुनावमा दाङमा २ पालिका प्रमुख ३ उपप्रमुख २१ वडाध्यक्ष र ८४ सदस्य थारु उम्मेदवार निर्वाचित भएका छन् भने २०७४ सालमा चुनाव जितेका थारु समुदायबाटै लुम्बिनी प्रदेशमा दुई जना मन्त्री, संघमा एक जना मन्त्री र चार जना संघीय सांसद बनिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया