नवलपुर-२ : दोस्रो पटक आमनेसामने भए कार्की र महत, को बलियो ?

 कात्तिक २७, २०७९ आइतबार ९:१०:५७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति नजिकिँदै जाँदा दलहरूले आफ्ना गतिविधिलाई तीव्रता दिँदै गएका छन् । उम्मेदवारहरू घरदैलोसहित मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् । दुई वटा सङ्घीय निर्वाचन क्षेत्र र चार वटा प्रदेश निर्वाचन क्षेत्र  रहेको नवलपरासी पूर्व नवलपुरमा समेत चुनावी सरगर्मी बढ्दै गएको छ । यहाँका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ मा  दोस्रो पटक दुई मुख्य प्रतिस्पर्धी आमनेसामने भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्की र एमालेको तर्फबाट तिलक महतबीच यहाँ मुख्य प्रतिस्पर्धा हुने निश्चित रहेको छ । यी दुवै उम्मेदवार दोस्रो पटक सङ्घीय चुनावमा प्रतिस्पर्धामा रहेका छन् । 

२०७४ सालको चुनावमा एमालेबाट उम्मेदवार बन्नुभएका तिलक महतले कांग्रेसबाट उम्मेदवार बन्नुभएका विष्णुकुमार कार्कीलाई १ हजार ३३३ मतान्तरले पराजित गर्नु भएको थियो । महतले  ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार ७२० मत प्राप्त गर्नुभएको थियो । तत्कालीन समयमा एमालेका महतलाई  माओवादीको साथ रहेको थियो । अहिले माओवादीसहितको साथ कांग्रेसका उम्मेदवार कार्कीलाई रहेको छ।

नवलपुर २ मा मध्यबिन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका, बौदीकाली गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिकाका सबै वडा र कावासोती नगरपालिका भित्रका ६ वटा वडा समावेश रहेका छन् । २०७४ को चुनावमा माओवादीको साथले एमाले विजयी भएको र अहिले माओवादीसहितको गठबन्धन आफूहरुसँग रहेकाले आफ्नो जित हुने कांग्रेसकाे दाबी रहेको छ । एमालेले भने गएकाे पालिकाको मतका आधारमा आफ्ना उम्मेदवार सुरक्षित रहेको दाबी गर्दै आएको छ ।

नवलपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पाँच पालिकाका  ४० वटा वडाहरू रहेका छन् । पालिका चुनावमा ४० मध्ये एमालेले २२ वटा वडा जितेको छ । कांग्रेसले १६ वटा वडा जित्दा राप्रपा र माओवादीले १/१ वडा जितेका छन् । यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने  पाँच पालिकामध्ये एमालेले ४ वटा पालिका जितेको छ भने कांग्रेसले एउटा पालिका जितेको छ । 

गएको पालिका चुनावमा ४० वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरूले ४२ हजार ५०० मत प्राप्त गरेका थिए । कांग्रेसको वडा अध्यक्षहरूले प्राप्त गरेको कुल मत ३८ हजार ५८७ रहेको छ ।  यस मतको आधारमा एमालेका वडा अध्यक्षले प्राप्त गरेको मत ३ हजार ९१३ मतले बढी रहेको छ । यसमा माओवादीका वडा अध्यक्षले प्राप्त गरको मत १ हजार ७४२  र एकीकृत समाजवादीका वडा अध्यक्षले प्राप्त गरेको १६२ मत जोड्दा कुल ४० हजार ४९१ हुन आउँछ अर्थात् गठबन्धनको मत एमालेको भन्दा २ हजार ९ मतले कम देखिन्छ । यहाँ राप्रपा वडा अध्यक्षले प्राप्त गरेको मत २ हजार ३६५ रहेको छ । राप्रपा अहिले जिल्लामा एकल प्रतिस्पर्धामा रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने पालिकाहरूमा एमालेबाट पाँच पालिका प्रमुखले प्राप्त मत ४१ हजार ७१९ रहेको छ । कांग्रेसले ३९ हजार ९४४ मत प्राप्त गरेको छ । यो एमालेका प्रमुखले प्राप्त गरेको मत भन्दा १ हजार ७७५ ले कम हो ।  यहाँ गठबन्धमा रहेको एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवारले १ हजार ६ मत प्राप्त गरेका छन् । यसलाई समावेश गर्दा एमालेका प्रमुखले प्राप्त गरेको मत ७६९ ले बढी देखिन्छ ।

पालिका चुनावको अङ्कगणितले नवलपुरमा दोस्रो पटक प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बन्ने अनुमान गर्न सकिन्छ । पालिका चुनावपछि यस निर्वाचन क्षेत्रमा थपिएका नयाँ मतदाता समेत निर्णायक बन्न सक्नेछन् । नवलपुर २ मा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । नवलपुर दुईमा अहिले कुल १ लाख २९ हजार २ सय ८० मतदाता रहेका छन् । जिल्लाभर कुल मतदाताको सङ्ख्या भने  २ लाख ६० हजार ४६२ रहेको छ । जसमा पुरुष १ लाख २४ हजार ३३६ र महिला मतदाताको सङ्ख्या १ लाख ३६ हजार १२१ छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया