मकवानपुर : हराएकाे एक हप्तापछि महिलाकाे शव गाडिएकाे अवस्थामा फेला

 मंसिर २६, २०७९ सोमबार १८:३६:२३ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ की ३६ वर्षीया सरस्वती वाइबाको हत्या गरेर पुरिएको अवस्थामा शव फेला परेको छ । 

एक हप्तादेखि घरबाट हराइरहेकी वाइबाको शव पुरिएको अवस्थामा फेला पर्नुले पनि हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले बताउनुभयाे । सरस्वतीले आत्महत्या गरेको भए शव पुरिएको अवस्थामा फेला नपर्ने र शव पुरिएको अवस्थामा फेला परेकाले कसैले हत्या गरेर पुरेको हुन सक्ने उहाँले बताउनुभयाे । यस विषयमा अनुसन्धान भइरहेकोले कसले हत्या गर्‍याे भनेर अहिले नै भन्न नसकिने प्रहरीको भनाइ छ ।

इन्द्रसरोवर–३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा वाइबाको शव उनकै श्रीमान वीरबहादुरले फेला पारेका थिए । वीरबहादुरले केही दिनअघि मात्र श्रीमती हराएको भनि जिल्ला प्रहरी कार्यलय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए । वीरबहादुरले हिजाे शनिवार बेलुकी श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

शव स्थानीय ठुलोकान्छा वाइवाको घरभन्दा ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भागमात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा भेटेपछि वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी सिस्नेरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकुरसहित खटिएको प्रहरी टोलीले घटनाको बारेमा जानकारी लिएर मुचुल्का तयार पारि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

सरस्वतीकाे शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको मकवानपुरका एसपी गौतमले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया