विकासलाई रोजगारीसँग जोड्दै कावासोती नगरपालिका

 पुस १, २०७९ शुक्रबार १३:२०:१९ | रासस
unn.prixa.net

फाइल तस्बिर

नवलपरासी – नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो ।

श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी १२ करोड ६० लाख रुपैयाँ बराबरका ८७ वटा आयोजना छनोट गरी काम अघि बढाइएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटाले जानकारी दिनुभयो । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत श्रममूलक आयोजना छनोट गरी काम अघि बढाइएको उहाँले बताउनुभयो ।

नगरपालिकाभित्रका १७ वटै वडामा श्रममूलक आयोजना छनोट गरिएको र त्यस्ता आयोजनामा नगरपालिकामा सूचीकृत वेरोजगार साथै उक्त आयोजनाका लागि सम्बन्धित वडामा कामदार सूचीकरणमा नाम दर्ता गरेकालाई रोजगार प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षका लागि कावासोती नगरपालिकामा आठ सय तीन जना सूचीकृत बेरोजगार रहेका छन् । उनीहरुलाई आवश्यक र क्षमता हेरी श्रममूलक आयोजनामा रोजगार प्रदान गरिएको छ ।

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत छनोट भएका श्रममूलक आयोजनाको कूल खर्चमा कम्तीमा ५० प्रतिशत श्रम तथा ज्यालामा खर्च गर्नुपर्ने रोजगार संयोजक सापकोटाले बताउनुभयो । “आयोजनाको लक्ष्यनै रोजगार सिर्जना गर्ने र सँगै विकास निर्माणका काम अघि बढाउने रहेको छ”, सापकोटाले भन्नुभयो ।

कोभिडसँगै धेरैले रोजगार गुमाएकाले सामान्यतया विकास निर्माणमा श्रममूलक रोजगारीको सिर्जना गर्दै त्यस्ता व्यक्तिको आर्थिक पुनरोत्थानका लागि यस प्रकारको आयोजना अघि बढाइएको उहाँले बताउनुभयो । कावासोती नगरपालिकामा हाल छनोट भएका ८७ वटा आयोजनामा खोला तटबन्धन, नाला निर्माण, खानेपानीको पाइप लाइन विस्तार, सिँचाइ कुलो निर्माण, पार्क निर्माण, सार्वजनिक भवनमा पर्खाल निर्माणलगायत छन् । 

नगरपालिकाभित्रका विकास निर्माणका काम अघि बढाउँदै गर्दा रोजागरीसमेतसँगै सिर्जना होस् भनेर आफूहरुले यस्ता खालका आयोजना सञ्चालन गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । विकास निर्माणका कामसँगै स्थानीयस्तरमा रोजगार सिर्जनालाई आफूहरुले प्राथमिकता दिएको नगर प्रमुख भुसालले बताउनुभयो । “नगरका योजना सञ्चालन हुँदा स्थानीयस्तरमा रोजगार सिर्जना गर्नसके हाम्रो श्रम हाम्रै योजनामा प्रयोग हुन्छ, यसले एकातर्फ स्थानीय सरकारप्रतिको जनताको विश्वास बढ्छ, अर्कोतर्फ विकास निर्माणका कामसँगै अघि बढ्छन्”, नगर प्रमुख भुसालले भन्नुभयो । 

उहाँका अनुसार यी आयोजनामा खर्च हुने रकमको ५० प्रतिशत अर्थात् छ करोड ३० लाख रुपैयाँ यसमा काम गर्ने कामदारले ज्यालाबापत प्राप्त गर्नेछन् । यसले यस आयोजनामा काम गर्नेको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया