आँधीखोलामा साप्ताहिक सरसफाइ अभियान सञ्चालन

 पुस १६, २०७९ शनिबार १८:५२:२१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ । 

पछिल्लो समय आँधीखोलामा फोहर फाल्ने, जथाभावी बालुवा निकाल्ने लगायतका कार्य भइरहेको भन्दै वालिङका नागरिकले नदी संरक्षणका लागि सक्रियता देखाएका हुन् । नदी संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रुपमा आँधीखोलाको सरसफाइ गर्न शुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो । 

मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै जानुका साथै फोहर तथा ढल मिसाउने प्रवृत्ति बढेको आलेको भनाइ छ । उहाँले सबैको सहकार्यमा ‘आँधीखोला संरक्षण महाअभियान’ शुरु गरिएको बताउनु भयो । आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

संस्थाले केही समय पहिले खोलाबाट जथाभावीरुपमा ढुङ्गा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने अवस्था छ । खोलाको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ । खोला आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेरमात्रै मिसाउन, माझी जातिको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाएको थियो । 

आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । प्रत्येक शनिवार सञ्चालन हुने नदी सरसफाइ अभियानलाई नगरपालिकाले समन्वय गरेर सहयोग गर्ने प्रमुख खाँणकाे भनाइ छ । वालिङ क्षेत्रमा खोलामा फोहर फाल्न पूर्ण रुपमा रोक लगाइएको प्रमुख खाँणले बताउनु भयो । 

अन्धाअन्धी दहदेखि आँधीमुहान (मिर्मी) पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार यही खोलाको किनारमा अवस्थित छन् । आँधीखोलाले स्याङ्जा जिल्लालाई दुई भागमा विभाजन गरिदिएको छ । जिल्लाका आँधीखोला गाँउपालिका, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाँउपालिका आँधीखालाको प्रभावित क्षेत्र हुन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया