सोलु खोलामा अवैध उत्खनन तीव्र, नियमनकारी निकाय मौन

 चैत १९, २०७९ आइतबार १६:३६:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको सोलु खोला ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको छ । केही समययता सोलुदुधकुण्ड नगरपालिका ४ र ५ क्षेत्रको सोलु खोला अवैधरूपमा ढुङ्गा, गिटी उत्खनन गर्ने थलाे बनेको हो ।

अहिले सोलु खोलाको बीच भागबाटै डोजर प्रयोग गरी धमाधम ढुङ्गा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । खोला नै सुकाएर बीचबाट निकालिएको नदीजन्य पदार्थहरू गाडीका गाडी निकासी भइरहेको स्थानीय बताउँछन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सोलु खोला अहिले ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको छ, तर सम्बन्धित निकाय मौन छ, मेशिन लगाएर दिनरात नभनी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ र राति–राति गाडीबाट निकासी भइरहेको छ ।’

खोलाबाट निकालिएका नदीजन्य पदार्थहरू विभिन्न क्रसर उद्योग तथा आयोजनाहरूमा बिक्री भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् । जलविद्युत् आयोजनाका कारण खोलामा पानी सुकाएर बगरमा परिणत भएसँगै क्रसरहरूको नजर नदीजन्य पदार्थमा परेको हो । जसका कारण नजिकका बस्ती तथा पर्यवरणमा समेत असर गर्न सक्ने स्थानीयको चिन्ता छ । अवैध उत्खननले वातारणदेखि प्राणी जगतको जीवनचक्रमा समेत खलल पुग्न सक्ने वातावरणविज्ञ राजन थापाले चिन्ता व्यक्त गर्नुभएकाे छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले भने सोलुदुधकुण्ड नगरपालिकाले अनुमति दिएको बताएको छ । क्रसर उद्योगहरूसँग आफूले कुरा गर्दा उनीहरूले नगरपालिकाबाट अनुमति लिएर उत्खनन गरेको बताएका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभयो । तर नगरपालिकाले भने उत्खननकाे कुनै अनुमति नदिएको बताएको छ । नगरपालिकाले कुनै पनि क्रसरहरूलाई अवैध उत्खनन गर्ने अनुमति दिन नमिल्ने भन्दै त्यस्तो कार्य बन्द गराउने मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।

नेपाल सरकारको ढुङ्गा, गिटी तथा बालुवा उत्खनन तथा व्यवस्था कार्यविधि २०७७ मा कुनै पनि नदीजन्य वस्तुहरू नदीको स्वरूप नै परिवर्तन हुने गरी उत्खनन गर्न नपाइने व्यवस्था छ । साथै नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्दा अनिवार्य वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने कानुनी प्रावधान छ । तर सोलु खोलामा आफूखुसी अवैधरूपमा धमाधम नदीजन्य पदार्थ उत्खनन गर्ने क्रम तीव्र हुँदा पनि नियमनकारी निकाय मौन बसेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया