सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लु तीन वर्षदेखि निमित्तको भरमा, अधिकांश दरबन्दी रिक्त

 चैत २३, २०७९ बिहिबार ८:५८:२७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बु सदरमुकाममै रहेको जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको छ ।

जिल्ला अस्पतालको प्रमुख ९ औँ तहको मेडिकल सुपरिटेन्डेन्ट हुनुपर्ने भए पनि अहिले ७ औँ तहको नर्सले चलाइरहेकाे अवस्था छ । तत्कालीन मेडिकल सुपरिटेन्डेन डा. छिरीङ शेर्पाको सरुवा भएसँगै त्यसयता अस्पताल स्टाफ नर्स सानी शेर्पाले चलाइरहनुभएको छ । हाल प्रमुखको पद खाली रहेको छ भने कोशी प्रदेशबाट सुपरिटेन्डेन्टको तलबभत्ता बापत आउने वार्षिक करिब २६ लाख रकम यत्तिकै फिर्ता जाने गरेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो ।

प्रदेश सरकारले स्थायी एमडिजिपी डाक्टरको व्यवस्थापन गर्न नसक्दा ३ वर्षदेखि अस्पताल निमित्तको भरमा सञ्चालन गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले बताउनुभयो । नागरिकको स्वास्थ्यसँग जोडिएको यस विषयमा आफूले संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको उहाँको भनाइ छ ।  १८ जनाको स्थायी दरबन्दी रहेको १५ शय्याको फाप्लु अपतालमा हाल ६ जना मात्रै स्थायी कर्मचारी छन् । जसमा एक जना वरिष्ठ अस्पताल निरीक्षक, एक जना स्टाफ नर्स, दुई जना सिनियर अनमी, ल्याब असिस्टेन एक जना र कार्यालय सहयोगी एक जना छन् । अन्य १२ जनाको दरबन्दी भने खाली रहेको अस्पताल श्रोतले जनाएको छ । तर आफूहरुले विभिन्न संघसंस्था तथा सरकारी निकायहरुसँग समन्वय गरेर करारमा चिकित्सक तथा अन्य कर्मचारीहरु राखेर अस्पताल सञ्चालन गरिरहेको निमित्त अस्पताल प्रमुख शेर्पाले बताउनुभयो ।

१५ शय्या (शय्या)को मान्यता प्राप्त अस्पताल भए पनि अहिले ५० शय्याकै रुपमा सञ्चालन भईरहेको उहाँको भनाइ छ । बिरामीको चाप अधिक हुँदा आफुहरुले ५० शय्याकै सेवा प्रवाह गरिरहेपनि कर्मचारीको दरबन्दी कम हुनु र भएका दरबन्दी समेत खाली हुँदा सेवा प्रवाहमा चुनौती रहेको निमित्त प्रमुख शेर्पाले बताउनुभयो । तर बिरामी र बिरामीका आफन्तहरु भने अस्पताल भौतिक संरचनाको रुपमा अब्बल रहे पनि सेवामा सुधार हुन नसकेको गुनासो गर्छन् ।

बिरामीका कुरुवा बालाराम श्रेष्ठले भन्नुभयोे–‘जिल्ला अस्पतालमा ठुलो भरोसा लिएर बिरामी पुग्छन्, तर सामान्य भन्दा सामान्य उपचारका लागि समेत ओखलढुंगा रेफर गर्ने प्रवृत्ति रोकिएको छैन्, भर्ना गरेर राखेको बिरामीले डाक्टर भेट्न त भोलिपल्ट विहानै कुर्नुपर्छ भने अरु त के अपेक्षा गर्नु !’ अस्पतालको सेवाबारे सेवाग्राही सन्तुष्ट देखिदैनन् ।

‘जिल्ला अस्पताल भौतिक संरचनाको हिसाबमा गर्व गर्न लायक छ, तर सेवा भने गएगुज्रेकै छ, खै सेवा कहिले सुध्रिने हो कुन्नी ?’–अस्पतालमा भेटिनुभएका माप्यदुधकोशीका नवीन राईले भन्नुभयो ।

पहिलाे सगरमाथाआरोही सर एडमन्ड हिलारीले करिब ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पतालमा आधा शताब्दीपछि सुविधा सम्पन्न भवन निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा याे भवन निर्माण गरिएको हो । करिब  ६४ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा झण्डै ७ रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माण भएको अस्पताल प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया