सोलुखुम्बुको खुम्बु–३ मा बाख्रापालनमा रोक, व्यवसायीको लाखौँ लगानी जोखिममा

 चैत ३०, २०७९ बिहिबार ९:१०:३३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा व्यावसायिक बाख्रापालन गर्न रोक लगाइएको छ ।

कृषिसँग सम्बन्धित कार्यालयबाट अनुदान लिएका तथा गाउँपालिकामै बाख्रा पालन व्यवसाय दर्ता गराएका किसानलाई समेत बाख्रा पालनमा प्रतिबन्ध गरिएको छ । बाख्रापालन गर्दा दुर्गन्ध बढेको र यसले वातावरणमा प्रदूषण बढाएको तथा पशुहिंसा पनि निषेध गरिएको भन्दै वडा नम्बर–३ मा जनप्रतिनिधिकै रोहबरमा बाख्रा पालनमा रोक लगाउने निर्णय गरिएको हो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–३ को कोङ्दे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समितिले वडाका जनप्रतिनिधिकै रोहबरमा वडा नम्बर ३ मा बाख्रा पालनमा प्रतिबन्ध लगाएको हो । चैत्र २ गते बसेको जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय समूहसहित बसेको सामुदायिक वनको बैठकले बाख्रापालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको वनले काटेको पत्रमा उल्लेख छ । यो निर्णयले न्यून आयस्तर भएका तथा खसी बाख्रा पालन गरेरै जीविकोपार्जन गर्नेलाई असर परेको बाख्रा पालन व्यवसायी सङ्घ सोलुखुम्बुका अध्यक्ष आङ काजी शेर्पाले बताउनुभयो ।

वडा क्षेत्रमा कतिपय नागरिकको प्रमुख आर्यआर्जनको श्रोत नै बाख्रा पालन भए पनि जनप्रतिनिधिकै रोहबरमा गरिएको यो निर्णयले आफूहरुको हातमुख जोर्ने बाटो नै बन्द हुने स्थितिमा पुगेको किसानले गुनासो गरेका छन् । व्यवसाय गर्ने अधिकार नागरिकलाई हुने भएकाले व्यावसायिक अधिकार माथि हस्तक्षेप गर्न नहुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–३ का वडाध्यक्ष नुरु जाङबु शेर्पाले आफ्नो वडामा मात्र नभइ पालिकाभर नै बाख्रा पालनमा प्रतिबन्ध लगाएको बताउनुभएको छ । यसअघि सुँगुर पाल्न प्रतिबन्ध लगाएकाले तिनै किसानले बाख्रा पालन गर्न थालेपछि बोट बिरुवामा पुग्न सक्ने क्षतिलाई ध्यानमा राखेर वडाकै समन्वयमा सामुदायिक वनले बाख्रा पालनमा पनि रोक लगाएको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया