नयाँ वर्षमा सल्लेरी सुनसान, डाँडाकाँडा भरिभराउ

 बैशाख १, २०८० शुक्रबार १३:४७:२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते हिमाली जिल्ला सोलखुम्बुकाे सदरमुकाम सल्लेरी बजार सुनसान बनेको छ । सल्लेरी बजार क्षेत्रका स्थानीय, पेसा व्यवसाय गर्ने तथा कर्मचारीहरू नयाँ वर्ष मनाउन अन्यत्र गएसँगै सल्लेरी बजार सुनसान बनेको हो ।

आज शुक्रवार सल्लेरी तथा फाप्लु क्षेत्रका होटल पसलदेखि धेरैजसाे घरको ढोकामा ताला लागेको छ भने नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सबै कार्यालयहरू पनि बन्द छन् । जसका कारण सधैजसो नागरिकको चहलपहल हुने सदरमुकाम क्षेत्र आज सुनसान छ । सल्लेरी, फाप्लु, नयाँ बजार क्षेत्र पुरै सुनसान छ भने जिल्लाको पर्यटकीय स्थलहरू पत्ताले, पिकेडाँडा, थुक्तेन्छोलिङ, रातनागी, च्याल्सा, लोदिङ मन्दिर, बेनी, गार्मा लगायतका क्षेत्रहरू पर्यटकले भरिभराउ बनेका छन् ।

आजको दिन परिवार, आफन्तजन तथा साथीभाइहरू एकआपसमा भेटघाट गरी रमाइलो गर्ने भएकाले जिल्लाको पर्यटकीय स्थलहरू भरिभराउ बनेका हुन् । साथै कतिपय व्यक्ति वनभोज तथा सहभोजका लागि गाडी नै रिजर्भ गरेर भ्रमणमा निस्किएका छन् । आपसी सद्भाव तथा भाइचराका लागि पनि आफूहरू वनभोजमा आएको वित्तीय कर्मचारी मञ्ज सोलुखुम्बुका अध्यक्ष खगेन्द्र बनले बताउनुभयाे ।  

जिल्लाकाे अर्काे पर्यटकीय क्षेत्र पत्ताले डाँडामा पनि मानिसहरू पुगेका छन् । बिहानैदेखि मौसम अनुकूल हुँदा त्यहाँ पुगेका पर्यटकहरू फोटो खिच्न तथा दृश्य अवलोकनमा व्यस्त बनेका पत्तालेबाट सन्दीप नेपालीले जानकारी दिनुभयाे ।

नयाँ वर्षको अवसरमा जिल्लाका विभिन्न तीर्थस्थलहरूमा मेला लागेकाले त्यहाँ पुग्नेहरूकाे सङ्ख्या पनि धेरै छ । पत्ताले क्षेत्रको गौरी टाप धार्मिक स्थलमा लागेको मेलामा सयौँको सङ्ख्यामा अवलोकनकर्ताहरू पुगेका धार्मिक स्थलका संरक्षक लौरेश्वर बाबाले बताउनुभयाे ।

यस्तै सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङमा ज्वालामाई मन्दिरमा पनि यस वर्ष नयाँ वर्षको अवसरमा मेला लागेको छ । नयाँ वर्षको अघिल्लो दिनदेखि सुरु भएको मेलामा सोलुखुम्बुको विभिन्न ठाउँसहित छिमेकी जिल्लाहरूबाट पनि अवलोकनकर्ता तथा भक्तजनहरू पुगेका मेला प्रचारप्रसार समितिका संयोजक सन्तबहादुर मगरले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया