सगरमाथामा सङ्कलित २ सय ५० किलो फोहोर नाम्चे झारियो

 बैशाख २१, २०८० बिहिबार १८:३:५६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथाबाट दुई सय ५० किलो फोहोर सोलुखुम्बुको नाम्चे झारिएको छ ।

नेपाली सेनाको हिमाल सफाइ अभियान टोलीले सङ्कलन गरेको दुई सय ५० किलो फोहोर सोमवार नाम्चे झारिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाले क्याम्प एकसम्म सङ्कलन गरेको टेन्ट, बोतल, प्लास्टिक, आल्मुनियम लगायतका फोहोर हेलिकप्टरबाट नाम्चे ल्याएको हो ।

नाम्चेमा रहेकाे ब्यारेकमा राखिएको फोहोर जल्ने र नजल्ने छुट्याएर जल्ने फोहोर एसपीसीसीको जिम्मा लगाइने र नजल्ने फोहोर हेलिकप्टरबाट काठमाण्डौ लैजाने सेनाले जनाएको छ । सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १३ जनाको तालिम प्राप्त टोली गएकाे चैत १७ गतेदेखि सगरमाथा सफाइ अभियानमा खटिएका छन् । जेठ १४ गते सम्म चल्ने अभियानमा झन्डै चार हजार किलो फोहोर सङ्कलन गर्ने सेनाले लक्ष्य लिएको एसपीसीसीले जनाएको छ ।

सगरमाथासहित ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइका लागि सेना खटिएकाे छ । सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य सञ्चालन हुने 'सफा हिमाल अभियान २०२३' अन्तर्गत २०७९ चैत १४ गते प्रधान सेनापति प्रभुराम शर्माबाट फ्ल्याग अफ सेरोमोनी हस्तान्तरण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष झन्डै ३५ टन फोहाेर सङ्कलन गर्ने लक्ष्य छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई कम गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया